धनकुटा। साँगुरीगढी गाउँपालिका–६ नाम्जेस्थित भेडेटार–रवि–राँके निर्माणाधीन सडकखण्डअन्तर्गत भेडेटार–थुम्की–लबडाँडा क्षेत्रमा अवरुद्ध सडक झण्डै ६ दिनपछि पूर्णरूपमा सञ्चालनमा आएको छ।
गत फागुन २९ गते बिहान करिब ९:३० बजे माथिबाट ठूलो पहिरो खस्दा उक्त सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो। त्यसपछिका दिनहरूमा लगातार परेको वर्षाका कारण पहिरो खस्ने क्रम जारी रहँदा सडकमा ठूलो मात्रामा माटो थुप्रिएको थियो, जसले आवागमन लामो समयसम्म प्रभावित बनाएको थियो।
सडकमा जमेको माटो हटाउन कठिनाइ भएपछि अवरोध हटाउन समय लागेको थियो। निर्माण कम्पनी एपीसीओ इन्फ्राटेक प्रालि (APCO Infratech Pvt. Ltd.) र नेपाल प्रहरीको सहकार्यमा पटक–पटक प्रयास गरी सडक खुलाइएको हो।
इलाका प्रहरी कार्यालय भेडेटारका प्रमुख इन्स्पेक्टर महेश भट्टराईका अनुसार हाल सडक सञ्चालनमा आए पनि जोखिम भने अझै पूर्ण रूपमा हटेको छैन। विशेषगरी सुख्खा पहिरो खस्ने सम्भावना रहेकाले यात्रु तथा सवारी चालकलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
सडक सञ्चालनमा आएसँगै उक्त क्षेत्रमा आवतजावत पुनः सहज भएको साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईले जानकारी दिए। स्थानीय बासिन्दा तथा यात्रुहरू लामो समयदेखि सडक अवरुद्ध हुँदा वैकल्पिक मार्ग प्रयोग गर्न बाध्य भएका थिए।
निर्माणाधीन यस सडकखण्ड पूर्वी पहाडी जिल्लाहरूलाई जोड्ने महत्वपूर्ण मार्गका रूपमा हेरिएको छ। सडक सञ्चालनमा आएपछि स्थानीय व्यापार, पर्यटन तथा दैनिक जनजीवनमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।





