काठमाडौं। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ निर्वाचित ११० सांसदलाई आगामी बिहीबार प्रमाणपत्र प्रदान गरिने भएको छ।

निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार कानुनले तोकेको ‘क्लस्टर’ प्रणालीअनुसार निर्वाचित सांसदहरूलाई प्रमाणपत्र वितरण गर्ने तयारी सुरु भइसकेको छ। आयोगले सबै प्रक्रियागत तयारी पूरा गर्दै औपचारिक रूपमा प्रमाणपत्र हस्तान्तरण गर्ने कार्यक्रम तय गरेको हो।

ADVERTISEMENT

गत फागुन २१ गते सम्पन्न निर्वाचनअन्तर्गत समानुपातिकतर्फ विभिन्न राजनीतिक दलबाट ११० जना सांसद निर्वाचित भएका थिए। आयोगले सोमबार सार्वजनिक गरेको विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सबैभन्दा धेरै ५७ जना सांसद निर्वाचित भएका छन्।

ADVERTISEMENT

त्यसैगरी नेपाली कांग्रेसबाट २०, नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट १६, नेपाल कम्युनिष्ट पार्टीबाट ९ तथा श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट ४/४ जना सांसद निर्वाचित भएका छन्।

निर्वाचन आयोगले प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न गरेपछि सोही दिन प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को समग्र प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाउने तयारी गरेको छ। सहायक प्रवक्ता जिसीका अनुसार निर्वाचन परिणामसहितको विस्तृत प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेश गरिनेछ।

ADVERTISEMENT

प्रतिवेदन बुझाएपछि नेपालको संविधान, २०७२ को धारा ७६ (१) अनुसार नयाँ सरकार गठनका लागि प्रक्रिया औपचारिक रूपमा अघि बढ्नेछ। यससँगै नयाँ राजनीतिक समीकरण र सरकार गठनको बहसले तीव्रता पाउने अपेक्षा गरिएको छ।

निर्वाचन आयोगले समानुपातिक प्रणालीमार्फत समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न विभिन्न क्लस्टरका आधारमा उम्मेदवार चयन गरी निर्वाचन सम्पन्न गरेको थियो। अब प्रमाणपत्र वितरणसँगै निर्वाचित सांसदहरूले औपचारिक रूपमा आफ्नो जिम्मेवारी ग्रहण गर्ने मार्ग खुल्नेछ।