काठमाडौं। पछिल्ला तीन महिनामा नेपाललाई ट्रान्जिट बनाएर युरोप जान खोज्ने इरानी नागरिकहरू पक्राउ परेका घटनाले अन्तर्राष्ट्रिय मानव तस्करीको जालो सक्रिय रहेको संकेत दिएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फरक–फरक मितिमा चार इरानी नागरिक नक्कली राहदानी र नक्कली भिसासहित पक्राउ परेका थिए। उनीहरूले नेपाललाई ट्रान्जिट बिन्दु बनाउँदै भारत, दुबईलगायत तेस्रो मुलुक हुँदै युरोप प्रवेश गर्ने प्रयास गरेको खुलेको छ।
२०७२ मंसिर १८ गते ३८ वर्षीय मोसाइब कियामार्सी एयर इन्डियाको उडानबाट भारत हुँदै नेदरल्यान्ड्स जान खोज्दा पक्राउ परेका थिए। उनले नक्कली बेलायती राहदानीमा नक्कली नेपाली भिसा प्रयोग गरेको पुष्टि भएको थियो।
त्यसैगरी पुस २ गते ३८ वर्षीया लीला रोस्तामिबेल्मिरी इन्डिगो एयरलायन्समार्फत भारत हुँदै बेलायत जान खोज्दा पक्राउ परिन्। उनको राहदानीको बायोग्राफिकल पृष्ठ नै नक्कली रहेको पुष्टि भएको थियो।
पुस १२ गते २४ वर्षीया अविन महमूदी मेहर र ३१ वर्षीया साबा सबौरी कोरुयेह फ्लाई दुबईको उडानबाट युएई हुँदै युरोप जान लाग्दा पक्राउ परेका थिए। उनीहरूले बुल्गेरियाली राहदानी प्रयोग गरे पनि त्यसमा उल्लेखित विवरण वास्तविक व्यक्तिसँग मेल नखाएको अनुसन्धानबाट खुलेको छ।
अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार पर्यटक भिसामा नेपाल प्रवेश गर्ने र त्यसपछि नक्कली युरोपेली राहदानी प्रयोग गरी युरोप उड्ने योजना बनाइएको देखिन्छ। फरक घटनामा प्रयोग भएको तरिका मिल्दोजुल्दो रहेकाले संगठित गिरोहको संलग्नता रहेको आशंका गरिएको छ।
पक्राउ परेका व्यक्तिहरूले आर्थिक कठिनाइ, सामाजिक अवस्था र इरानमा स्वतन्त्रताको अभावका कारण युरोप जान खोजेको बयान दिएका छन्। उनीहरूले सामाजिक सञ्जालमार्फत सम्पर्क भएका व्यक्तिहरूलाई हजारौँ डलर तिरेर नक्कली कागजात बनाएको पनि बताएका छन्।
सुरक्षा निकायका अनुसार नेपालमा सजिलै पर्यटक भिसा प्राप्त हुने, अन्तर्राष्ट्रिय उडान सुविधा उपलब्ध हुने र तेस्रो मुलुक हुँदै युरोप पुग्न सकिने भएकाले मानव तस्करहरूले नेपाललाई ट्रान्जिट बिन्दुका रूपमा प्रयोग गर्न थालेका छन्।
अनुसन्धानपछि चारैजना इरानी नागरिकलाई निष्कासन गरिएको छ।
यसैबीच गृह मन्त्रालयले सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै इरानी नागरिकलाई दिँदै आएको ‘अनअराइभल भिसा’ सेवा पनि बन्द गरेको छ। अब इरानी नागरिकले नेपाल आउनुअघि अनिवार्य रूपमा नेपाली दूतावासबाट भिसा लिनुपर्ने व्यवस्था गरिएको छ।






