बेरुत । अमेरिकी नेतृत्वमा वासिङ्टनमा भएको उच्चस्तरीय वार्तापछि इजरायल र लेबनान बुधबार युद्धविराम लागू गर्न सहमत भएका छन् । तर इरान समर्थित हिजबुल्लाहले गोली आदानप्रदानको पूर्ण समाप्तिबिना कुनै पनि सहमति कार्यान्वयन नहुने स्पष्ट पारेको छ, जसले सम्झौतामाथि अनिश्चितता कायम राखेको छ ।
दुवै पक्षबीच औपचारिक कूटनीतिक सम्बन्ध नभए पनि संयुक्त विज्ञप्तिमा पाइलट जोन स्थापना गर्ने सहमति भएको उल्लेख छ । उक्त क्षेत्रमा लेबनानी सशस्त्र बलले गैर–राज्य सशस्त्र समूहहरूलाई हटाउँदै विशेष नियन्त्रण लिने व्यवस्था रहने बताइएको छ ।
युद्धविरामको घोषणा भए पनि त्यसअघि र पछिसमेत सीमावर्ती क्षेत्रमा झडप र आक्रमणहरू जारी रहेका छन् । हिजबुल्लाहले इजरायली सेनालाई लक्षित आक्रमण गरेको र इजरायली आक्रमणमा दक्षिणी लेबनानमा कम्तीमा १० जनाको मृत्यु भएको दाबी गरिएको छ ।
सम्झौता सार्वजनिक भएको केही घण्टापछि उत्तरी इजरायलमा संदिग्ध हवाई लक्ष्य देखिएपछि हवाई आक्रमण चेतावनी जारी गरिएको थियो, यद्यपि कुनै हताहत भएको पुष्टि भएको छैन ।
संयुक्त विज्ञप्तिअनुसार युद्धविराम लागू हुन हिजबुल्लाहको गोलीबारी पूर्णरूपमा रोकिएको हुनुपर्ने र दक्षिणी लेबनानबाट उसका लडाकूहरू हटाइने सर्त पनि समावेश गरिएको छ । वासिङ्टनमा भएको वार्ता लेबनानी र इजरायली प्रतिनिधिहरूबीच प्रत्यक्ष संवादको चौथो चरण भएको जनाइएको छ । संवाद मार्च २ मा सुरु भएको संघर्षपछि अघि बढिरहेको छ । त्यसबेला हिजबुल्लाहले इरानको समर्थनमा इजरायलमाथि आक्रमणहरू पुनः सुरु गरेको थियो ।
दुवै पक्षले आगामी जुन २२ को हप्तामा पुनः वार्ता गर्ने सहमति पनि जनाएको छ, जसको उद्देश्य व्यापक शान्ति सम्झौतामा पुग्ने बताइएको छ ।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लेबनानको द्वन्द्व र इरानसँगको सम्बन्धित तनावलाई अलग–अलग रूपमा सम्बोधन गर्नुपर्ने धारणा व्यक्त गरेका छन् । तर तेहरानले यी सबै घटनाहरू आपसमा जोडिएको दाबी गर्दै इरानका विदेशमन्त्री अब्बास अराघचीले बेरुतमा कुनै पनि आक्रमण भएमा युद्ध पुनः पूर्ण रूपमा सुरु हुने चेतावनी दिए ।
इजरायली सेनाले बुधबार लेबनानबाट इजरायली क्षेत्रमा प्रवेश गरेको शत्रुतापूर्ण विमान र दुई प्रोजेक्टाइलहरू रोकेको जनाएको छ । त्यसको जवाफमा हिजबुल्लाहले इजरायली सेनाले युद्धविराम उल्लंघन गरेको भन्दै उत्तरी इजरायलमा सैनिक लक्ष्यहरूमा रकेट आक्रमण गरेको दाबी गरेको छ ।
बिहीबार बिहान हिजबुल्लाहले दक्षिणी लेबनानको अल–कान्तारा सहरमा इजरायली सैनिक र सवारी साधनहरूलाई लक्षित गर्दै रकेटहरू प्रहार गरेको र चकिफ क्यासल नजिकैको इजरायली कमान्ड पोस्टमा दुई ड्रोन आक्रमण गरेको जनाएको छ ।
यसअघि युद्ध रोक्ने उद्देश्यले प्रस्ताव गरिएको युद्धविराम अप्रिल १७ मा लागू हुने भनिए पनि दुवै पक्षले एकअर्कामाथि उल्लंघनको आरोप लगाउँदै निरन्तर आक्रमण जारी राखेका थिए । हिजबुल्लाहका वरिष्ठ अधिकारी महमुद कोमातीले समूहले आंशिक युद्धविराम स्वीकार नगर्ने स्पष्ट पार्नुभएको थियो ।







