काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहबीच समानुपातिक सांसद चयन र नयाँ सरकार गठनबारे महत्वपूर्ण छलफल भएको छ। यस छलफल शुक्रबार लामिछानेको हात्तीगाउँस्थित निवासमा भएको रास्वपा नेताहरूले जानकारी दिएका छन्। लामिछाने हाल अस्वस्थ रहेका कारण घरमै शीर्ष नेताहरूसँग छलफल गर्दैछन्, उनका स्वकीय सचिव अविनाश आचार्यले बताएका छन्।
गत साता सम्पन्न निर्वाचनमा रास्वपाले २७५ मध्ये १८२ सिट जितेको थियो। निर्वाचन आयोगले आगामी साता निर्वाचनको अन्तिम परिणाम राष्ट्रपतिलाई बुझाएलगत्तै नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउने छ। आयोगले बिहीबार दलहरूलाई तीन दिनभित्र समानुपातिक सांसदको सूची बुझाउन पत्राचार गरेको छ। रास्वपाले ११० मध्ये ५७ समानुपातिक सांसद जितेको छ। दलहरूले क्लस्टर मिलाएर सूची बुझाएपछि आयोगले प्रमाणपत्र जारी गर्नेछ र त्यसपछि राष्ट्रपतिलाई परिणाम बुझाउनेछ।
रास्वपामा नयाँ सरकार गठन र मन्त्री चयनको तयारी पनि सुरु भएको छ। पार्टीभित्रको छलफल अनुसार रास्वपाबाट बालेन प्रधानमन्त्री हुँदैछन्।







