रौतहट। रौतहटको चन्द्रपुर नगरपालिका क्षेत्रमा ‘स्वाइन फिभर’ रोग फैलिन थालेपछि बङ्गुर मर्न थालेका छन्। पछिल्लो एक साताको अवधिमा विभिन्न स्थानमा बङ्गुर मरेपछि किसान चिन्तित बनेका छन्।

पशु चिकित्सक डा सुलभ चौधरीका अनुसार चन्द्रपुर नगरपालिका–५ राजपेडा गाउँका किसान हरि गुरोका १४ वटा बङ्गुर स्वाइन फिभरका कारण मरेका छन्। एक साताको अन्तरालमा यति ठूलो सङ्ख्यामा बङ्गुर मरेपछि स्थानीय किसानलाई आर्थिक क्षति पुगेको छ।

ADVERTISEMENT

किसान गुरोले बङ्गुर बिरामी भएपछि पशु चिकित्सकलाई खबर गरेर उपचार गराएको तर उपचारका क्रममा पनि बङ्गुर बचाउन नसकिएको बताए।

ADVERTISEMENT

यसैबीच चन्द्रनिगाहपुर–४ मा शान्ति मगरको एउटा बङ्गुर पनि सोही रोगका कारण मरेको पशु चिकित्सक चौधरीले जानकारी दिए।

उनका अनुसार स्वाइन फिभर विशेषगरी रोग लागेको बङ्गुर, त्यसका पाठापाठी, मासु वा रोगी पशुको सम्पर्कमा आएका अन्य पशुबाट सजिलै फैलने गर्छ।

रोग नियन्त्रणका लागि चन्द्रपुर नगरपालिकाले सबै वडामा खोप अभियान सञ्चालन गर्ने घोषणा गरेको छ। तर हाल खोप अभाव भएकाले अभियान सुरु गर्न केही समय लाग्ने पशु चिकित्सक चौधरीले बताए।

चन्द्रपुर नगर क्षेत्रमा किसानहरूले करिब छ हजारको हाराहारीमा बङ्गुर पालेका छन्। रोग फैलिने क्रम बढेमा किसानलाई ठूलो आर्थिक क्षति हुन सक्ने भन्दै पशु चिकित्सकहरूले सतर्कता अपनाउन आग्रह गरेका छन्।