काठमाडौं। अमेरिका र इसराइलले गरेको हवाई आक्रमणमा परी इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनी घाइते भएको खुलासा भएको छ।अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनले स्रोतलाई उद्धृत गर्दै प्रकाशित गरेको समाचारअनुसार अमेरिका–इसराइलले गरेको पहिलो दिनको हवाई हमलामै मोज्तबा खामेनी घाइते भएका हुन्। उक्त आक्रमणमा उनको खुट्टा भाँचिएको र अनुहारमा सामान्य चोट लागेको बताइएको छ।

गत डिसेम्बर २८ मा तेहरानमा भएको हवाई आक्रमणमा त्यतिबेला सर्वोच्च नेता रहेका आयातोल्लाह अली खामेनीसहित इरानका केही शीर्ष अधिकारीहरू मारिएका थिए। सो हमलामा खामेनी परिवारका पाँच सदस्य पनि मारिएको बताइएको छ।

साइप्रसका लागि इरानी राजदूत अलिरेजा सलारियनले बेलायती पत्रिका ‘द गार्डियन’लाई दिएको जानकारीअनुसार मोज्तबा खामेनी आफ्ना पिता अली खामेनी मारिएको सोही हवाई आक्रमणमा घाइते भएका थिए। ५६ वर्षीय मोज्तबाको देब्रे आँखाको वरिपरि चोट लागेको र अनुहारमा सानो काटिएको समेत देखिएको सिएनएनले जनाएको छ।

यसअघि इसराइली अखबार ‘टाइम्स अफ इसराइल’ले पनि अली खामेनीमाथिको आक्रमणमा मोज्तबा खामेनी घाइते भएको उल्लेख गरेको थियो।

नयाँ सर्वोच्च नेताको रूपमा नियुक्त भएको घोषणा गरिए पनि मोज्तबा खामेनी हालसम्म सार्वजनिक रूपमा देखिएका छैनन्। उनले अहिलेसम्म कुनै सार्वजनिक सम्बोधन पनि गरेका छैनन्।

राजदूत सलारियनका अनुसार चोटपटकका कारण मोज्तबा हाल भाषण दिन सक्ने अवस्थामा छैनन्। यद्यपि इरानी राष्ट्रपति मशुद पेजिस्कियनका छोरा युसेफ पेजिस्कियनले राज्य समाचार संस्था इरानीयन स्टुडेन्ट्स न्युज एजेन्सीसँग कुरा गर्दै खामेनी सुरक्षित रहेको र उनको अवस्था चिन्ताजनक नभएको बताएका छन्।

मोज्तबा खामेनी सार्वजनिक रूपमा कम देखिने धार्मिक व्यक्तित्वका रूपमा चिनिन्छन्। उनी आफ्ना पिता अली खामेनीले दशकौँसम्म निर्माण गरेको राजनीतिक तथा सुरक्षा सञ्जालमा प्रभावशाली व्यक्ति मानिन्छन्।

विशेषगरी इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी)सँग उनको निकट सम्बन्ध रहेको मानिन्छ। विश्लेषकहरूले उनलाई आफ्ना पिताभन्दा पनि कडा धारको नेता मान्ने गरेका छन्।

सन् २०१९ मा अमेरिकाले मोज्तबा खामेनीमाथि प्रतिबन्ध लगाएको थियो। अमेरिकी अधिकारीहरूले उनलाई क्षेत्रीय प्रभाव विस्तार गर्न तथा आन्तरिक दमनलाई सघाएको आरोप लगाएका थिए।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको नयाँ सर्वोच्च नेताको रूपमा मोज्तबा खामेनी चयन भएकोप्रति असन्तुष्टि जनाउँदै उक्त निर्णय आफूहरूका लागि स्वीकार्य नहुने बताएका छन्।