सिरहा। लहानस्थित विभिन्न डेन्टल क्लिनिकमा नेपाल मेडिकल काउन्सिलको आकस्मिक स्थलगत अनुगमन गर्दा गैर चिकित्सकद्वारा उपचार गरिँदै आएको गम्भीर अवस्था पत्ता लागेको छ।

नेपाल मेडिकल काउन्सिलअन्तर्गत व्यवसायिक आचरण तथा स्वास्थ्य समितिका संयोजक डा. अजय कुमार साहको नेतृत्वमा अनुगमन टोलीले लहान–३ स्थित अस्पताल चोक क्षेत्रमा सञ्चालित हिमाल डेन्टल क्लिनिक, राधा कृष्ण डेन्टल क्लिनिक र वेस्ट राधा डेन्टल क्लिनिकको निरीक्षण गरेको थियो।

ADVERTISEMENT

काउन्सिलले जनाएको छ, ती क्लिनिकमा योग्य डेन्टल चिकित्सक बिना मात्र करिब साढे दुई वर्ष डेन्टल हाइजेनिष्ट अध्ययन गरेका जनशक्ति प्रयोग गर्दै बिरामीको उपचार भइरहेको छ। केही क्लिनिक सञ्चालकले अन्य चिकित्सकको नाम बोर्डमा राखेर आफ्नो मर्जीले उपचार सञ्चालन गर्दै, चिकित्सकको हस्ताक्षर गराउने जस्ता कानुनविपरीत गतिविधि पनि गरिरहेको पाइएको छ।

अनुगमन टोलीले पुग्ने सूचना पाएपछि सगरमाथा डेन्टल क्लिनिकका सञ्चालक क्लिनिक बन्द गरेर फरार भएका थिए। डा. साहले भने, “योग्य चिकित्सक बिना डेन्टल क्लिनिक सञ्चालन गर्नु कानुनविपरीत मात्र होइन, यसले सर्वसाधारणको स्वास्थ्य र ज्यानमाथि प्रत्यक्ष जोखिम सिर्जना गर्छ। प्राप्त उजुरीका आधारमा यस्ता अवैध क्लिनिक पहिचान गरी दोषीमाथि कारबाही प्रक्रिया अघि बढाइनेछ।”

ADVERTISEMENT

अनुगमन टोलीमा डा. साहसहित विज्ञ डा. राजिव शर्मा र डा. सुमन कर्ण सहभागी थिए। काउन्सिलले आगामी दिनमा पनि यस्ता अनुगमन जारी राख्ने जनाएको छ।