काठमाडौं । निर्वाचन आयोगले आगामी निर्वाचनका लागि विकट तथा दुर्गम क्षेत्रमा मतपेटिका ढुवानी र संकलनको विशेष कार्ययोजना तयार पारेको छ । हिमाली तथा पहाडी जिल्लाका दुर्गम मतदान केन्द्रमा निर्वाचन सामग्री पुर्याउन र मतदानपछि मतपेटिका सुरक्षित रूपमा मतगणना स्थलसम्म ल्याउन हेलिकप्टर प्रयोग गरिने भएको हो ।
निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतका अनुसार मतदानअघि नै हुम्ला र डोल्पाका अति दुर्गम २७ स्थानमा हेलिकप्टरमार्फत मतपत्र, कर्मचारी र सुरक्षाकर्मी पुर्याइसकिएको छ । तीमध्ये डोल्पाका २३ र हुम्लाका ४ मतदान केन्द्र रहेका छन् ।
मतदान सम्पन्न भएपछि देशका थप १५ जिल्लाका ६१ दुर्गम स्थानबाट मतपेटिका संकलन गर्न पनि हेलिकप्टर प्रयोग गरिने सचिव राउतले जानकारी दिए । उनका अनुसार ताप्लेजुङदेखि दार्चुलासम्मका ती ६१ स्थानबाट मतदानपछिको मतपेटिका हेलिबाटै संकलन गरिनेछ ।
अन्य सडक सञ्जाल पुगेका तथा सुगम क्षेत्रमा भने सवारी साधनमार्फत मतपेटिका संकलन गरिनेछ । मतपेटिका ढुवानी सुरक्षित र व्यवस्थित बनाउन आयोगले ७७ वटै जिल्ला प्रशासन कार्यालयमा आवश्यक बजेट पठाइसकेको जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयले प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सुरक्षा निकायसँग समन्वय गरी मतपेटिका सम्बन्धित १६५ वटा मतगणना स्थलमा पुर्याउने व्यवस्था मिलाइने आयोगले जनाएको छ ।












