भक्तपुर। फागुपूर्णिमाको अवसरमा भक्तपुरस्थित विभिन्न भिमसेन मन्दिरमा दर्शनार्थी भक्तजनको उल्लेख्य घुइँचो लागेको छ । धार्मिक तथा सांस्कृतिक दृष्टिले महत्वपूर्ण मानिने यस पर्वका दिन आदर्शस्थित परदेशी भिमसेन, याँछेंस्थित याँछें भिमसेन तथा दत्तात्रयस्थित तचपाल भिमसेन मन्दिरमा बिहानैदेखि पूजा र दर्शन गर्ने भक्तजनको भीड देखिएको हो ।
फागुपूर्णिमाका दिन भिमसेन देवताको विधिवत् पूजा तथा दर्शन गर्नाले आम्दानीका नयाँ स्रोत खुल्नुका साथै व्यापार–व्यवसाय फस्टाउँदै जाने धार्मिक विश्वास रहिआएको छ । विशेषगरी व्यापारी समुदायले यस दिनलाई श्रद्धापूर्वक मनाउने गर्दछन् । स्थानीय डाफा भजन खलः, विभिन्न व्यापारी सङ्घसंस्था तथा पसलेहरुले बलिसहितको विशेष पूजा अर्चना गर्ने परम्परा छ ।
आजका दिन टोल–टोलबाट परम्परागत धिमे बाजा, बाँसुरी, धाः बाजालगायतका बाजागाजासहितका टोली भिमसेन मन्दिर पुग्ने गर्छन् । देवताको पूजा अर्चनापछि सम्येबजी ग्रहण गर्दै फागु पर्व मनाउने चलन छ, जसलाई स्थानीय भाषामा ‘भिसिंङ पूजा’ भन्ने गरिन्छ ।
स्थानीय महिला हाकुपतासीमा सजिएर भिमसेन देवताको पूजा सम्पन्न गरेपछि समेबजी खाई एकआपसमा अबीर दलेर टोल–छिमेक परिक्रमा गर्दै फागु मनाउने परम्परा रहिआएको छ । यसले भक्तपुरको मौलिक संस्कृति र सामुदायिक एकतालाई थप प्रगाढ बनाउने विश्वास गरिएको छ ।
यसै अवसरमा आज साँझ दत्तात्रयस्थित तचपाल भिमसेन मन्दिरको पाटीमा प्रदर्शनीका लागि राखिएको काठको ठूलो पुरुष लिङ्गलाई नगर परिक्रमा गराई ब्रम्हायणी मन्दिरस्थित खोलामा लगेर पखाल्ने र पुनः मन्दिरमा प्रतिस्थापन गरेपछि यस वर्षको फागुपर्व औपचारिक रुपमा सम्पन्न हुने परम्परा रहेको छ । लिङ्ग बोकेर जाने व्यक्तिको छोरा जन्मने जनश्रुति पनि स्थानीय समाजमा प्रचलित छ ।








