ढोरपाटन (बागलुङ), १३ फागुन। ट्रयाक खुलेको २६ वर्षपछि ग्रामीण सडक कालोपत्र भएपछि स्थानीय बासिन्दा खुसी भएका छन्। जिल्ला सदरमुकामसँग जोडिएका मूलपानी–तितौरे, ओडारचौर–ढोडेनी र गणेशघुम्ती–निरयघाट सडक कालोपत्र गरिएको हो।

सडक कालोपत्र भएपछि यात्रा गर्न र सामान ढुवानी गर्न सहज भएको स्थानीयको भनाइ छ।

ADVERTISEMENT

सहरी शासकीय तथा पूर्वाधार विकास कार्यक्रममार्फत मूलपानी–तितौरे सडकको ८.५ किलोमिटर, ओडारचौर–ढोडेनी सडकको २.५ किलोमिटर र गणेशघुम्ती–निरयघाट सडकअन्तर्गत १.५ किलोमिटर गरी कुल १२.२ किलोमिटर सडक कालोपत्र गरिएको हो।

विश्व बैंकको ४८ करोड रुपैयाँ अनुदानमा सडक निर्माण गरिएको बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले बताए। उनका अनुसार सडक कालोपत्र भएपछि ग्रामीण जनतालाई आवतजावत गर्न र स्थानीय उत्पादन बजारसम्म पुर्‍याउन सहज भएको छ।

ADVERTISEMENT

बागलुङ नगरपालिकाका वडा नं १, ४ र ७ जोड्ने यी सडकले स्थानीयको दैनिकीमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ। प्रमुख श्रेष्ठले भने, “ट्रयाक खुलेको धेरै वर्ष भयो, तर कालोपत्र नहुँदा धुलो र हिलोको समस्या थियो। अहिले सडक कालोपत्र भएपछि यात्रा मात्र होइन, दैनिक जीवन नै सहज हुने विश्वास लिएका छौँ।”

सडक कालोपत्र भएपछि धुलो र हिलोको समस्या हटेको स्थानीय तुलसी सापकोटाले बताए। उनका अनुसार केही महिनाअघि गाडी गुड्दा घरभित्रै धुलो पस्ने अवस्था थियो, अहिले सडक चिटिक्क बनेको छ।

अर्का स्थानीय प्रेम विकका अनुसार पहिले साँघुरो र अप्ठ्यारो सडकका कारण बागलुङ बजार पुग्न साढे एक घण्टा लाग्थ्यो। अहिले भने २५–३० मिनेटमै बजार झर्न सकिने अवस्था बनेको छ।