काठमाडौं, १२ फागुन । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा) ले आफ्नो उपचारका लागि आवश्यक खर्च जुटिसकेको जानकारी दिएकी छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत उपचारका लागि देश–विदेशबाट उल्लेखनीय आर्थिक सहयोग प्राप्त भएको बताउँदै सबै समर्थकप्रति धन्यवाद व्यक्त गरेकी छन्।
भण्डारीले पछिल्लो २४ घण्टामा पाएको साथ, विश्वास र मायाले आफूलाई थप बलियो बनाएको उल्लेख गरेकी छन्। उनले सोमबार घुँडाको एसिएल शल्यक्रिया गर्नुपर्ने भएकाले सहयोगको अपिल गरेकी थिइन्। अपिल गरेको २४ घण्टाभित्रै आवश्यक रकम संकलन भएको हो।
उनका अनुसार नेपाली बैंक खातामा एक करोड रुपैयाँभन्दा बढी र विदेशी प्लेटफर्ममार्फत करिब ४५ लाख रुपैयाँ (५२ हजार न्युजिल्यान्ड डलर) संकलन भइसकेको छ। उक्त रकमले शल्यक्रिया खर्चसँगै कतारमा उपचार अवधिमा लाग्ने आवास र यातायात खर्चसमेत धान्ने बताइएको छ।
आवश्यक रकम जुटिसकेकाले आजैदेखि दुवै खातामार्फत हुने रकम संकलन रोक्न उनले आग्रह गरेकी छन्। साथै आफू आबद्ध क्लबले पनि शल्यक्रिया र पुनःस्थापनाका लागि बिमा रकम निकासा गरी सहयोग गरिरहेको जानकारी दिएकी छन्।
चोटका कारण करिब दुई महिनादेखि मैदान बाहिर रहेकी भण्डारीले शारीरिकसँगै मानसिक रूपमा पनि थकित भएको उल्लेख गर्दै समर्थकहरूको साथले पुनः उठ्ने साहस दिएको बताएकी छन्। उनले अझ मजबुत भएर मैदानमा फर्किने र पुनः राष्ट्रिय जर्सी लगाएर देशका लागि खेल्ने प्रतिबद्धता जनाएकी छन्।








