चितवन। चितवन जिल्लामा लगाइएको एभोकाडो खेतीमा क्याङ्कर (खटिराजन्य) रोगको समस्या देखिएको छ। जिल्लाको पूर्वी तथा पश्चिमी क्षेत्रमा रहेका एभोकाडो बगैँचामा उक्त रोगको सङ्क्रमण देखिएको कृषि विकास कार्यालय चितवनले जनाएको छ।

कृषि विकास कार्यालय चितवनकी बागवानी विकास अधिकृत स्वस्तिका चौहानका अनुसार ढुसीजन्य कारणले यो रोग फैलिएको हो। उनका अनुसार चितवनमा पहिलो पटक यस प्रकारको रोग देखिएको हो र परीक्षणका लागि नमुना पठाइएको छ।

ADVERTISEMENT

यो रोग ‘फाइटोप थेरा मेनेङ्गी’ नामक जीवाणुका कारण लाग्ने बताइएको छ। माटो र पानीमार्फत जीवाणु सर्ने भएकाले सिँचाइ तथा बगैँचा व्यवस्थापनमा विशेष सावधानी अपनाउनुपर्ने सुझाव दिइएको छ।

रोग लागेको बोटमा सुरुमा हाँगा मर्न थालेजस्तो देखिने र पछि पूरै बोट सुक्ने समस्या आउने जनाइएको छ। बगैँचामा सिँचाइ गर्दा सिधैँ बोटमा पानी नपुर्‍याउने, बोटमा घाउ वा खटिरा देखिएमा बोडोपेस्ट लगाउने, बगैँचा सरसफाइमा ध्यान दिने तथा अनावश्यक घाउचोट लाग्न नदिने उपाय अपनाउन आग्रह गरिएको छ। रोग देखिएमा ढुसिनासक औषधि प्रयोग गर्न पनि सुझाव दिइएको छ।

ADVERTISEMENT

हाल चितवनमा ६ दशमलव ५ हेक्टर क्षेत्रफलमा एभोकाडो खेती गरिँदै आएको छ। उक्त क्षेत्रफलबाट वार्षिक ५१ मेट्रिकटन एभोकाडो उत्पादन हुँदै आएको कार्यालयले जनाएको छ। पछिल्ला केही वर्षयता जिल्लामा एभोकाडो खेती विस्तार हुँदै आएको छ।