काठमाडौं । शहरी विकास मन्त्रालय अन्तर्गतको बागमती सभ्यता एकीकृत विकास समितिले काठमाडौं उपत्यकाका नदीहरूमा तैरिँदै आउने फोहोर संकलन गर्न ट्रास बेरियर जडान गरेको छ। नदी प्रदूषण नियन्त्रण र सरसफाइ व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यले ६५ लाख रुपैयाँ खर्च गरेर ६ स्थानमा यस्ता बेरियर राखिएको हो।

समितिले गत साउन २ गते सम्झौता गरी गोकर्ण ब्यारेजभन्दा माथि, गुहेश्वरी नजिक, पशुपतिभन्दा तल तीलगंगामा, मनोहरा र बागमतीको दोभानमा, युएन पार्कमा तथा कर्मनाशा मिसिने ठाउँ बालकुमारीमा ट्रास बेरियर जडान गरेको जनाएको छ।

आयोजनाका उपनिर्देशक उद्धव नेपालका अनुसार ट्रास बेरियरले नदीमा तैरिँदै बगेर आउने प्लास्टिक, प्लास्टिकका बोत्तल, काठका टुक्रा, फोमलगायत फोहोरलाई एकै ठाउँमा रोकेर संकलन गर्न सहज बनाउँछ। “यो परीक्षणका रूपमा सुरु गरिएको हो। प्रारम्भिक रूपमा प्रभावकारी नै देखिएको छ,” उनले बताए।

ADVERTISEMENT

उनका अनुसार पानीको सतह घटबढ हुँदा बेरियर स्वतः तलमाथि हुने व्यवस्था गरिएको छ, जसले नदीको बहावअनुसार आफूलाई समायोजन गर्छ। आगामी बर्खा सिजनमा यसको कार्यक्षमता मूल्यांकन गरेर थप स्थान तथा अन्य नदीहरूमा विस्तार गर्नेबारे निर्णय गरिने समितिले जनाएको छ।

ADVERTISEMENT

बागमती तथा यसका सहायक नदीहरूमा बढ्दो प्रदूषण नियन्त्रणका लागि समितिले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। ट्रास बेरियर जडानलाई नदी सरसफाइ अभियानलाई व्यवस्थित र दीगो बनाउने दिशामा महत्वपूर्ण कदमका रूपमा लिएको छ।

ADVERTISEMENT