कर्णाली। सुर्खेत जिल्ला प्रहरी कार्यालयले सवारी नियम उल्लङ्घन गर्ने चालकबाट माघ महिनामा रु नौ लाख ३९ हजार राजस्व सङ्कलन गरेको जनाएको छ।
कार्यालयका प्रवक्ता मोहनजङ्ग बुढ्थापाका अनुसार सो अवधिमा एक हजार २२ जना सवारीचालक ट्राफिक नियम विपरीत कार्य गरेको आरोपमा कारबाहीमा परेका थिए। ती चालकहरूलाई प्रचलित कानुनअनुसार जरिवाना गरिँदा उक्त रकम राजस्वका रूपमा असुली गरिएको हो।
प्रहरीका अनुसार तीव्र गतिमा सवारी चलाउने, कागजात नबोक्ने, मादक पदार्थ सेवन गरी सवारी चलाउने, सिट बेल्ट तथा हेल्मेट प्रयोग नगर्ने लगायतका कारणले बढी कारबाही गरिएको छ। सवारी दुर्घटना न्यूनीकरण र सडक अनुशासन कायम गर्न नियमित जाँच तथा निगरानीलाई कडाइ गरिएको कार्यालयले जनाएको छ।
यसैबीच, माघ महिनामै सुर्खेत जिल्लामा भएका विभिन्न सवारी दुर्घटनामा दुई पुरुष र तीन महिलाको मृत्यु भएको प्रवक्ता बुढ्थापाले जानकारी दिएका छन्। दुर्घटनामा परेर २३ जना गम्भीर घाइते भएका छन् भने ६१ जना सामान्य घाइते भएका छन्। घाइतेहरूको विभिन्न स्वास्थ्य संस्थामा उपचार गरिएको जनाइएको छ।
प्रहरीले सवारी दुर्घटनाका प्रमुख कारणमा तीव्र गति, लापरवाहीपूर्ण सवारी सञ्चालन, मादक पदार्थ सेवन र सडकको अवस्थालाई उल्लेख गरेको छ। दुर्घटना न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रम, नियमित ट्राफिक जाँच र नियम उल्लङ्घन गर्नेलाई कडा कारबाहीलाई निरन्तरता दिइने कार्यालयले जनाएको छ।
सडक सुरक्षा सुदृढ गर्न चालक, सहचालक तथा यात्रुले पनि ट्राफिक नियम पालना गर्न आवश्यक रहेको प्रहरीको आग्रह छ।






