काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्ड शनिवार पनि रातभर नखुल्ने भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार, शनिवार रातभर पनि सडक दुईतर्फी नै बन्द हुने भएको हो ।
साँझसम्म पनि निरन्तर पहिरो गइरहेका कारण पन्छाउन नसकिएको कार्यलयले जनाएको छ । शनिवार रातीभर सडक नखुुल्ने भएको छ ।
कार्यलयका अनुसार, आइतबार पनि मध्यान्ह १२ बजेभन्दा अघि सहज आवागमन गराउनसक्ने अवस्था देखिएको छैन । चितवनको इच्छाकामना गाउँपालिकास्थित तुइन खोलामा शुक्रबारदेखि निरन्तर पहिरो खसिरहेको छ । शुक्रबार रातिदेखि नै सडक अवरुद्ध हुँदा यात्रुहरू बाटोमै अलपत्र परेका छन् ।
अहिले पनि सडकमा धेरै सवारी र मानिसहरू अलपत्र परेका छन् । जिल्ला प्रशासन कार्यालय र प्रहरीले शनिबार दिउँसो अलपत्र यात्रुहरूलाई पानी र खानाको व्यवस्था गरेको थियो ।
तुइन खोला मुग्लिनबाट २.५ किलोमिटर नारायणगढतर्फ रहेको छ । राजमार्गको दुवैतर्फ सवारी साधनको लामो लाइन लागेको छ ।
दशैंको मुखमा मुख्य राजमार्ग नै अवरुद्ध भएपछि शनिबार दिउँसो भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयमा पनि छलफल भएको थियो ।
मन्त्री कुलमान घिसिङले राजमार्ग खुलाउन र वैकल्पिक व्यवस्था समेत गराउन सम्बन्धित निकायलाई निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।







