ललितपुर । गोदावरी नगरपालिका कार्यपालिका सदस्य बिना नगरकोटीसहित कम्युनिस्ट पार्टीका विभिन्न तहका नेता कार्यकर्ता कांग्रेस प्रवेश गरेका छन् ।

गोदावरी नगरपालिका २, विशंखुनारायणमा शुक्रबार आयोजित एक कार्यक्रमका बीच उनीहरूलाई कांग्रेस सहमहामन्त्री एवं ललितपुर १ का प्रतिनिधि सभा उम्मेदवार उदयशमशेर राणाले माला र टीका लगाएर पार्टीमा स्वागत गरे ।

पार्टी प्रवेश गर्नेहरूमा दलित वडा सदस्य उम्मेदवार निता बिसुङ्खे, विशंखु नारायण खानेपानीका अध्यक्ष राजन विष्ट, स्थानीय समाजसेवी दिनेश विष्ट र युवा संघ विशुङ्खुनारायणका पूर्वअध्यक्ष सनम खत्री रहेका छन् ।

ADVERTISEMENT

उनीहरूलाई स्वागत गर्दै राणाले गोदावरीका विभिन्न वडाबाट जनप्रतिनिधि र स्थापित नेताहरू नै कांग्रेसमा आएकाले आफ्नो जित सुनिश्चित भइसकेको दाबी गरे। बागमती प्रदेश सांसद मीनकृष्ण महर्जनले देशैभरि कांग्रेस प्रवेशको लहर चलेकाले कांग्रेसलाई पहिलो पार्टी बन्नबाट कसैले रोक्न नसक्ने धारणा व्यक्त गरे।

ADVERTISEMENT

पार्टी प्रवेश गर्ने अधिकांश युवाहरूले कांग्रेसभित्र देखिएको नेतृत्व परिवर्तन र सुशासनप्रतिको प्रतिबद्धताबाट प्रभावित भएर आफूहरू समाहित भएको बताएका छन्। निर्वाचनको मुखमा गोदावरी क्षेत्रका स्थापित युवा शक्ति र जनप्रतिनिधिहरू कांग्रेसमा ध्रुवीकृत भएसँगै यस क्षेत्रमा कांग्रेसको चुनावी पल्ला भारी भएको राजनीतिक विश्लेषण गरिएको छ। पछिल्लो समय ललितपुर १ मा कांग्रेस उम्मेदवार राणा निर्विकल्प जस्तै देखिएका छन् ।

ADVERTISEMENT