काठमाडौं । एसियाली विकास बैंकले दक्षिण एसिया विभागको महानिर्देशकमा सोना श्रेष्ठलाई नियुक्त गरेको छ । मनिलास्थित एडीबी मुख्यालयले बिहीबार जारी गरेको विज्ञप्तिमा श्रेष्ठलाई दक्षिण एसिया विभागको महानिर्देशक नियुक्त गरेको उल्लेख छ ।

श्रेष्ठले बंगलादेश, भुटान, भारत, माल्दिभ्स, नेपाल र श्रीलंकामा एडीबीको रणनीति तथा कार्यक्रम सञ्चालनको नेतृत्व गर्नेछिन्। नियुक्तिपछि श्रेष्ठले दक्षिण एसियाको नेतृत्व सम्हाल्न पाउँदा आफू गौरवान्वित भएको बताउँदै क्षेत्रका सदस्य राष्ट्रहरूसँग नजिकबाट सहकार्य गर्दै समावेशी र दिगो विकासका लागि एडीबीको संलग्नता अझ गहिरो बनाउने प्रतिबद्धता व्यक्त गरिन् ।

ADVERTISEMENT

श्रेष्ठ विकास क्षेत्रमा अनुभवी नेतृत्वकर्ता हुन् । उनीसँग २७ वर्षभन्दा बढी व्यावसायिक अनुभव छ । उनले २३ वर्ष एडीबीमै बिताएकी छन् । यसअघि उनी दक्षिण एसिया विभागकै उपमहानिर्देशक थिइन् । साथै, उनले एडीबीको स्वतन्त्र मूल्यांकन विभागकी उपमहानिर्देशक, सहायक सचिव, दक्षिण–पूर्वी एसियाका लागि वित्तीय क्षेत्र तथा व्यापार महाशाखाकी निर्देशक, र इन्डोनेसियाकी उप–देश निर्देशकका रूपमा पनि काम गरिसकेकी छन् ।

ADVERTISEMENT

एडीबीमा प्रारम्भिक कार्यकालमा उनले मध्य तथा पश्चिम एसिया, दक्षिण एसिया र दक्षिण–पूर्वी एसियामा सञ्चालन अनुभव हासिल गरेकी थिइन् । श्रेष्ठले अमेरिकाको क्यालिफोर्निया विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर तथा विद्यावारिधि गरेकी छन् । उनले म्यासाचुसेट्सस्थित स्मिथ कलेजबाट अर्थशास्त्रमा स्नातक उपाधि प्राप्त गरेकी हुन् ।

एडीबी एशिया तथा प्रशान्त क्षेत्रमा समावेशी, लचिलो र दिगो आर्थिक वृद्धिलाई प्रवद्र्धन गर्ने प्रमुख बहुपक्षीय विकास बैंक हो । एडीबीमा ६९ सदस्य राष्ट्र आबद्ध छन् ।