काभ्रेपलाञ्चोक। आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा काभ्रेपलाञ्चोकको निर्वाचन क्षेत्र नं २ बाट २४ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्। जिल्ला निर्वाचन कार्यालयका अनुसार १६ राजनीतिक दलका उम्मेदवार र आठ स्वतन्त्र गरी कुल २४ जनाको उम्मेदवारी दर्ता भएको हो।
यस क्षेत्रको निर्वाचनमा पुराना र नयाँ राजनीतिक दलबीच प्रतिस्पर्धा हुने देखिएको छ। नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तथा स्वतन्त्र उम्मेदवारहरूबीच चुनावी भिडन्त हुँदैछ।
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा यसै क्षेत्रबाट एमालेका गोकुल बाँस्कोटा ४५ हजार ३४५ मतसहित विजयी भएका थिए । उक्त निर्वाचनको समानुपातिकतर्फ एमाले पहिलो, कांग्रेस दोस्रो, रास्वपा तेस्रो र तत्कालीन नेकपा (माओवादी केन्द्र) चौथो स्थानमा रहेको थियो।
यसपटक एमालेका तर्फबाट ५४ वर्षीय केन्द्रीय सदस्य अशोककुमार ब्याञ्जू, कांग्रेसबाट ६१ वर्षीय केन्द्रीय सदस्य मधुप्रसाद आचार्य, रास्वपाबाट ३३ वर्षीय बदनकुमार भण्डारी र नेकपाबाट ५५ वर्षीय बसुन्धरा हुमागाईं उम्मेदवार बनेका छन्।
धुलिखेल नगरपालिकाका नगरप्रमुखसमेत रहनुभएका ब्याञ्जूले समसामयिक आवश्यकता अनुसार राजनीतिक प्रणाली सुधार गर्दै समृद्ध राष्ट्र निर्माणमा योगदान पुर्याउने उद्देश्यले उम्मेदवारी दिएको बताउनुभएको छ। कांग्रेसका उम्मेदवार आचार्यले सुशासन स्थापना, भ्रष्टाचारमुक्त समाज निर्माण र जनतालाई प्रत्यक्ष सेवा प्रवाह गर्ने लक्ष्यसहित चुनावी मैदानमा उत्रिएको जनाउनुभयो। यसै क्षेत्रबाट कांग्रेसका पनौती निवासी नेता राजेशकुमार श्रेष्ठले पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएका छन्।
रास्वपाले युवा पुस्ताको प्रतिनिधित्व गर्ने उद्देश्यसहित भण्डारीलाई उम्मेदवार बनाएको जनाएको छ। भण्डारीले सुशासन, भ्रष्टाचारको नीतिगत अन्त्य र जेन–जीका माग सम्बोधनलाई प्राथमिकता दिने बताउनुभएको छ। नेकपाका उम्मेदवार हुमागाईं पूर्व बागमती प्रदेश सरकारको कृषि मन्त्रीसमेत रहनुभएको छ। उहाँले किसान, मजदुर र सर्वहारा वर्गको हितमा काम गर्ने प्रतिबद्धतासहित उम्मेदवारी दिएको बताउनुभयो।
निर्वाचन कार्यालयका अनुसार २४ उम्मेदवारमध्ये दुई दल र एक स्वतन्त्र गरी तीन जना महिला उम्मेदवार छन्। यस निर्वाचनमा दलित समुदायबाट भने उम्मेदवारी परेको छैन भने जनजाति समुदायका २५ जनाले उम्मेदवारी दर्ता गराएका छन्। जिल्लामा कुल तीन लाख २६ हजार ६११ मतदाता रहेका छन्, जसमध्ये क्षेत्र नं १ मा एक लाख ६१ हजार १०० र क्षेत्र नं २ मा एक लाख ६५ हजार ५११ मतदाता कायम छन्।












