काठमाडौँ। महाशिवरात्रि २०८२ को तयारी अघि बढाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का अध्यक्ष अनिलकुमार सिन्हाको अध्यक्षतामा १७१ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ।
यस वर्षको महाशिवरात्रि पर्वलाई व्यवस्थित रूपमा सम्पन्न गर्न गठन गरिएको समितिमा काठमाडौँ महानगरपालिका, वडा नं. ८ कार्यालयलगायत सम्बन्धित निकायका प्रतिनिधिहरूलाई सदस्यका रूपमा समेटिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। समितिले पशुपति क्षेत्रमा पर्व व्यवस्थापन र तयारीसम्बन्धी कार्यहरू समन्वय गर्नेछ।
मूल समारोह समितिअन्तर्गत नौ वटा विषयगत उपसमिति बनाएर काम अघि बढाइएको कोषका कार्यकारी निर्देशक तथा प्रवक्ता सुभाषचन्द्र जोशीले जानकारी दिनुभयो। उहाँका अनुसार ती उपसमितिहरूले आ–आफ्नो क्षेत्रगत जिम्मेवारीअनुसार तयारी गरिरहेका छन्।
यसैक्रममा शुक्रबार सुरक्षा उपसमितिको बैठक सम्पन्न भएको छ। काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलको अध्यक्षतामा बसेको बैठकमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका अधिकारीहरूको सहभागिता रहेको थियो। बैठकमा महाशिवरात्रि पर्वका अवसरमा अपनाइने सुरक्षा व्यवस्थाबारे विस्तृत छलफल गरिएको जनाइएको छ।












