काठमाडौँ। सर्वोच्च अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारीलाई धरौटीमा रिहा गर्न अस्वीकार गरेको छ। न्यायाधीशद्वय हरिप्रसाद फुयाल र शान्तिसिंह थापाको संयुक्त इजलासले विशेष अदालतको थुनामा राख्ने आदेशलाई यथावत् राख्दै अधिकारीलाई धरौटीमा छाड्न नमिल्ने ठहर गरेको हो।

यसअघि विशेष अदालतका न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले भ्रष्टाचार मुद्दामा अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। सो आदेशविरुद्ध सर्वोच्च अदालतमा दायर गरिएको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले विशेष अदालतकै निर्णयलाई समर्थन गरेको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भक्तपुरको नलिन्चोकमा हेलिपोर्ट निर्माणका क्रममा करिब १३ करोड ५७ लाख रुपैयाँ अनियमितता भएको अभियोगमा अधिकारीलाई पक्राउ गरी मुद्दा दायर गरेको थियो। विशेष अदालतको आदेशपछि उनलाई डिल्लीबजार कारागार चलान गरिएको थियो ।

ADVERTISEMENT