काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको आगामी आर्थिक नीति, कानुनी सुधार र उद्यमशीलतामा केन्द्रित रोडम्यापको विस्तृत विवरण प्रस्तुत गरेका छन्। उनले पार्टीले अब केवल सपना देख्ने नभई ती सपना कार्यान्वयनमा रूपान्तरण गर्ने, प्रशासनिक जटिलतालाई हटाएर देशको अर्थतन्त्रलाई गतिशील बनाउने साहसिक कदम चाल्ने बताएका छन्।

पौडेलले बिपी कोइरालाको दृष्टिकोणलाई उद्धृत गर्दै भने समाजवाद भनेको गरिबीको वितरण मात्र होइन, पुँजी निर्माण र सम्पत्तिको सञ्चयको माध्यमबाट समृद्धि सुनिश्चित गर्नु हो। उनले जोड दिए  पुँजी र नवप्रवर्तनको अभावमा समाजवादको कल्पना गर्दा अन्ततः केवल अभावको वितरण मात्रै हुन्छ।

ADVERTISEMENT

महामन्त्री पौडेलले आर्थिक विकासका लागि विभिन्न कानुन, नियम र नीतिहरू एकैसाथ कार्यान्वयन हुनुपर्नेमा जोड दिए। उदाहरणस्वरूप, युवाहरूलाई नेपालमै स्टार्टअप सुरु गर्न आवश्यक कानुन, बैंकिङ प्रणाली, परराष्ट्र नीति र विश्वविद्यालय सुधार एकैसाथ अघि बढ्नुपर्छ, नत्र व्यवसाय र उत्पादन प्रणालीले अपेक्षित गति पाउने छैन।

ADVERTISEMENT

उनले डिजिटल युगमा धन अब केवल भौतिक वस्तुमा नभई मानिसको मस्तिष्क र सृजनशीलतामा रहेको बताए। मार्क जुकरबर्ग र बिल गेट्सको उदाहरण दिँदै उनले देखाए कि नयाँ विचार, नवप्रवर्तन र सफ्टवेयर निर्माणले मात्र अरबौं मानिसलाई रोजगारी र जीवन सरलता प्रदान गर्छ।

नेपाली कांग्रेसको नीति अनुसार, अर्थतन्त्र राज्य नियन्त्रणबाट होइन, नागरिकको सृजनशीलता र उद्यमशीलताबाट विस्तार हुने छ। यस अन्तर्गत, स्टार्टअप प्रवर्द्धन, डिजिटल उत्पादनको विश्व बजारमा प्रवेश, र युवाहरूलाई बौद्धिक पुँजीको मान्यता प्रदान गर्न विशेष नीति ल्याइनेछ।

ADVERTISEMENT

विद्यालय र विश्वविद्यालयले युवालाई व्यवसायिक, डिजिटल र अनुसन्धानकर्मी बनाउने शिक्षा दिनुपर्ने छ। रिसर्च एण्ड इनोभेसन हबको रूपमा विश्वविद्यालयहरूलाई विकसित गरेर युवालाई विश्व बजारको प्रतिस्पर्धामा उत्राउन सकिने वातावरण निर्माण गरिने छ, पौडेलले औँल्याए  ।

नेपाली कांग्रेसको दृष्टिकोणमा उद्योग, कृषि, पर्यटन, ऊर्जा र शिक्षा जस्ता क्षेत्रलाई एकीकृत दृष्टिकोणमा व्यवस्थापन गर्न आवश्यक छ। कानुनी जटिलता हटाएर उद्योग स्थापना र सञ्चालनलाई सहज बनाउने, विभिन्न मन्त्रालय र निकायको दोहोरोपन हटाएर फास्ट ट्रयाक प्रणाली विकास गर्ने योजना अघि सारिएको छ।

पौडेलले बताए  आजको अर्थतन्त्रमा पुँजीको सृजनशील प्रयोगले नयाँ रोजगारी र अवसर सिर्जना गर्छ। डिजिटल उत्पादन, सफ्टवेयर, स्टार्टअप जस्ता क्षेत्रमा लगानीले समाजको भुई तहसम्म लाभ पुर्याउने छ। यसै गरी सार्वजनिक सेवामा सुधार, स्वास्थ्य र शिक्षा क्षेत्रमा समान पहुँच सुनिश्चित गरेर नागरिकलाई सक्षम र आत्मनिर्भर बनाइने छ।

नेपाली कांग्रेसले आर्थिक नीति र कूटनीतिमा जोड दिने छ। भु-आर्थिक पुल (Geo-Economic Bridge) निर्माण, विदेशी प्रविधि हस्तान्तरण, ज्ञान र सिपको फिर्ती (Brain Gain), लगानीमैत्री वातावरण र व्यापार प्रवर्द्धनका लागि कूटनीतिक पहल गरिने छ।

पौडेलले नागरिक केन्द्रित दृष्टिकोण प्रस्तुत गर्दै भने – लोकतन्त्रमा व्यक्ति होइन, संस्था बलियो हुनुपर्छ। राज्यले नागरिकलाई उद्यमशील, आत्मनिर्भर र सक्षम बनाउने वातावरण तयार पार्नेछ। दलित, महिला, विपन्न र पछि परेका समुदायहरूलाई शिक्षा, स्वास्थ्य र स्रोतसाधनमा विशेष अवसर दिएर मुख्यधारामा ल्याइने छ।

पौडेलले भने – “नेपाली कांग्रेसको आर्थिक दृष्टिकोण राज्यको नियन्त्रणबाट होइन, नागरिकको सृजनशीलता र उद्यमशीलतामा आधारित छ। यसले उत्पादनमुखी अर्थतन्त्र निर्माण गर्ने, रोजगारी सिर्जना गर्ने र समृद्धि सुनिश्चित गर्नेछ।”

उनले पार्टीको नयाँ आर्थिक मार्गचित्रलाई कार्यान्वयन गर्ने अभियानमा सबै नागरिकलाई सहयोग गर्न आह्वान गर्दै समावेशी, दिगो र ज्ञानमा आधारित अर्थतन्त्र निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे।