मुस्ताङ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मुस्ताङ जिल्लामा ३९ वटा मतदान केन्द्र तथा मतदानस्थल कायम गरिएको छ । जिल्लाका पाँचै स्थानीय तहमा रहेका सबै मतदान केन्द्र सुरक्षा दृष्टिकोणले सामान्य अवस्थामा रहेको प्रशासनले जनाएको छ ।

यद्यपि, हिमाली जिल्ला भएकाले सम्भावित हिमपातले मतदान प्रक्रियामा असर पार्न सक्ने आकलन गरिएको छ । हिमपातको अवस्थामा मतदाता मतदानस्थलसम्म पुग्न कठिनाइ हुन सक्ने भन्दै प्रशासनले आवश्यक पूर्वतयारी थालेको छ ।

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५ स्थित साङ्ता मतदान केन्द्रतर्फ जाने मुस्ताङ–डोल्पा सडकमा बाक्लो हिउँ जमेकाले करिब एक महिनादेखि यातायात सेवा अवरुद्ध छ । विगतका वर्षहरूमा फागुन र चैत महिनामा हिमपात हुने गरेको अनुभवका आधारमा यसपटक पनि सतर्कता अपनाइएको प्रमुख जिल्ला अधिकारी अजिता शर्माले बताए ।

निर्वाचन कार्यतालिका अनुसार मतदान मितिभन्दा केही दिन अगाडि साङ्ता मतदान केन्द्रतर्फ जाने सडकमा डोजर परिचालन गरी हिउँ पन्छ्याएर यातायात सहज बनाउने योजना रहेको प्रजिअ शर्माको भनाइ छ ।

यसैबीच, जिल्ला निर्वाचन कार्यालयको सिफारिसमा लोमान्थाङ गाउँपालिका–२ समजुङ मतदानस्थललाई सोही वडाको छोसेरस्थित दिव्यदीप माध्यमिक विद्यालय छोसेरमा गाभिएको छ । त्यस्तै, लोघेकर दामोदरकुण्ड गाउँपालिका–ताङ्ग्याका मतदाताको सहजताका लागि थप एक मतदानस्थल व्यवस्था गरिएको छ ।

हाल जिल्लामा थासाङ गाउँपालिकामा आठ, घरपझोङ गाउँपालिकामा छ, लोघेकर दामोदरकुण्ड गाउँपालिकामा १०, वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा नौ र लोमान्थाङ गाउँपालिकामा छ वटा मतदान केन्द्र तथा मतदानस्थल कायम गरिएको छ ।

प्रजिअ शर्माका अनुसार जिल्लाका सबै मतदान केन्द्रमा सडक पहुँच, विद्युत्, टेलिफोन तथा इन्टरनेट सुविधा उपलब्ध छ । मुस्ताङमा कुल ११ हजार ३२८ मतदाता रहेका छन्, जसमा पुरुष पाँच हजार ५५९, महिला पाँच हजार ७६८ र अन्य एक जना रहेको जिल्ला निर्वाचन अधिकारी लोकेन्द्र ज्ञवालीले जानकारी दिए ।

स्थानीय तहअनुसार घरपझोङमा दुई हजार ४९२, थासाङमा दुई हजार ९०८, लोघेकर दामोदरकुण्डमा एक हजार ५४२, वारागुङ मुक्तिक्षेत्रमा दुई हजार ३७६ र लोमान्थाङ गाउँपालिकामा दुई हजार ११ जना मतदाता छन् ।

निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरीका २६६ जना र सशस्त्र प्रहरी बल नेपालका ४६ जना निर्वाचन सुरक्षाकर्मी खटाइने भएको छ । उनीहरूका लागि आइतबारदेखि अनुशिक्षण तालिम सञ्चालन भइसकेको छ ।

यस निर्वाचनका लागि नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, उज्यालो नेपाल पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, मङ्गोल नेशनल अर्गानाइजेशन र आमजनता पार्टीले उम्मेदवारी दर्ता गराएका छन् ।