वासिंगटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले भेनेजुएलाको तेल किन्नका लागि पहिले नै सम्झौता गरिसकेको दाबी गरेका छन् । साथै उनले चीनलाई पनि भेनेजुएलाको तेल किन्न खुला रूपमा आग्रह गरेका छन् ।

एयर फोर्स वनमा पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले चीनलाई भेनेजुएलाको तेलमा ठूलो सम्झौता गर्न स्वागत रहेको बताए । उनले भारत चाँडै भेनेजुएलाको तेल खरिद प्रक्रियामा प्रवेश गर्ने र इरानबाट तेल किन्नुको सट्टा भेनेजुएलाबाट आयात गर्ने योजना बनेको बताए । उनका अनुसार यस विषयमा सम्झौताको अवधारणा पहिल्यै तयार भइसकेको छ ।

ADVERTISEMENT

‘हामीले पहिले नै एउटा सम्झौता गरिसकेका छौँ । भारत आउँदैछ र उनीहरूले इरानबाट किन्नुको सट्टा भेनेजुएलाको तेल किन्न जाँदैछन् । त्यसैले हामीले सम्झौताको ढाँचा बनाइसकेका छौँ’, ट्रम्पले भने ।

तर भारत सरकारले अहिलेसम्म राष्ट्रपति ट्रम्पको यस टिप्पणीबारे औपचारिक प्रतिक्रिया दिएको छैन ।यसअघि राष्ट्रपति ट्रम्पले भेनेजुएलाले अमेरिकालाई पाँच अर्ब २० करोड अमेरिकी डलर बराबरको पाँच करोड ब्यारेल तेल प्रस्ताव गरेको र त्यसमा सहमति भइसकेको दाबी गरेका थिए । । साउदर्न बुलेभार्डको नाम परिवर्तन गरी डोनाल्ड ट्रम्प बुलेभार्ड बनाउने विषयमा आयोजित पत्रकार सम्मेलनमा उनले नयाँ नेतृत्वसँग निरन्तर संवाद भइरहेको बताए ।

ADVERTISEMENT

‘हामी नयाँ राष्ट्रपतिसँग र देश सञ्चालन गर्ने अन्य व्यक्तिहरूसँग कुरा गरिरहेका छौँ । उनीहरूले भने, हामीसँग पाँच करोड ब्यारेल तेल छ र यसलाई तुरुन्तै प्रशोधन गर्नुपर्छ किनकि भण्डारणको ठाउँ छैन । के तपाईँ लिनुहुन्छ ? मैले भनेँ, हामी लिन्छौँ”, ट्रम्पले भने । उनका अनुसार उक्त तेलको मूल्य पाँच अर्ब २० करोड अमेरिकी डलर बराबर पर्छ ।

राष्ट्रपति ट्रम्पले भेनेजुएलाका पूर्वराष्ट्रपति निकोलस मदुरोलाई सैन्य कारबाहीमार्फत पक्राउ गरेपछि बनेको अन्तरिम सरकारसँग अमेरिकाको सम्बन्ध राम्रो रहेको पनि उल्लेख गरे । ‘हामी अन्तरिम राष्ट्रपति रहेका व्यक्ति र अन्य सबैसँग राम्रो सम्बन्धमा छौँ । धेरै दबाब कम भएको छ”, उनले भने ।