काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता एवं काठमाडौंका मेयर बालेन्द्र साह बालेनलाई बयान दिन जाँचबुझ आयोगले पत्र पठाएको छ । भदौ २३ र २४ गते जेनजी आन्दोलनको घटनासम्बन्धी छानबिन गर्न बनेको जाँचबुझ आयोगले बालेनलाई बयानमा बोलाएको उनका स्वकीय सचिव भुपदेव शाहले जानकारी दिए ।

जेनजी आन्दोलनका पहिलो दिन काठमाडौं महानगरपालिकाले पानी वितरण गरेको थियो । जसमा काठमाडौं महानगरको प्रहरी बल र हामी नेपाल एनजिओका संयोजक सुधन गुरुङलगायत सहभागी थिए । तत्कालीन प्रधानमन्त्री केपी ओली, गृहमन्त्री रमेश लेखक, जेनजी प्रतिनिधि सुदन गुरुङ, पुरुषोत्तम यादवलगायतसँग बयान लिइसकेको आयोगले पत्र पठाएर बालेनलाई पनि बोलाएको हो । ‌

ADVERTISEMENT

ओलीले आइतबार जाँचबुझ आयाेग र मानवअधिकार आयाेगलाई बयान दिएका छन् । जाँचबुझ आयाेगलाई नचिन्ने बयान दिनुपरे गाेली ठाेके हुन्छ भन्ने ओलीले आइतबार लिखित र माैखिक दुवै बयान दिएका छन् । बयान दिएपछि ओलीमाथि लगाइएकाे स्थान हद फुकुवा गर्ने आयाेगकाे तयारी छ ।

भदौ २४ गते तत्कालीन प्रधानमन्त्री ओलीलगायतले राजीनामा दिइसकेको भन्दै बालेनले जेनजीलाई आन्दोलनबाट फर्किन आह्वान गरेका थिए । उनले नयाँ सरकार गठन गर्ने सन्दर्भमा जेनजीहरुलाई सेनासँग वार्ता गर्न र प्रतिनिधिसभा विघटनलाई सर्त राख्न आग्रह गरेका थिए ।

वर्तमान प्रधानमन्त्री सुशीला कार्कीलाई प्रधानमन्त्री सिफारिस गर्नमा उनकै हात रहेको बताइन्छ । यी सबै घटनामा बालेन प्रत्यक्ष नदेखिए पनि अपत्यक्ष रुपमा उनको संलग्नता रहेको भन्दै आयोगले उनलाई बयानमा बोलाएको हो । यसअघि बालेनले राष्ट्रिय मानव अधिकार आयोगलाई बयान दिइसकेका छन् ।

बालेन र रास्वपा सभापति रवि लामिछानेकै निर्देशनमा जेनजी आन्दोलनमा विध्वंस भएको आरोप लागेको छ । हिजो काठमाडौंमा विध्वंस मच्चाउन सडकमा उत्रिएका जेनजी अनुहार अहिले रास्वपा प्रवेश गरेकाले दलहरूले लगाएको आरोप पुष्टि भएको छ । बालेनले आगामी चुनावमा उठ्न माघ २ गते मेयरबाट राजीनामा दिने तयारी गरेका छन् ।