काठमाडौँ । डाभोसमा भएको विश्व आर्थिक मञ्चको सम्मेलनलाई सम्बोधन गर्दै क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले विश्व व्यवस्था अब संक्रमणको चरणमा नभई पूर्ण रूपमा भाँचिएको अवस्थामा पुगेको घोषणा गर्दै देशहरूलाई “झुटो अभिनय” त्यागेर यथार्थ स्वीकार गर्न आह्वान गरेका छन्। चेक गणराज्यका असन्तुष्ट नेता तथा पछि राष्ट्रपति बनेका भ्याक्लाभ हावेलको चर्चित निबन्ध ‘द पावर अफ पावरलेस’ लाई उद्धृत गर्दै कार्नीले अन्तर्राष्ट्रिय राजनीतिमा देखिँदै आएको ढोंग र दोहोरो मापदण्डमाथि तीव्र प्रहार गरे। जुन अहिले सर्बत्र चर्चाको बिषय बन्न पुगेको छ।
कार्नीले सन् १९७८ मा हावेलले उठाएको एउटा साधारण तर गहिरो प्रश्न सम्झाए कम्युनिस्ट प्रणाली कसरी टिकिरह्यो? हावेलको उत्तर एउटा किराना पसलेबाट सुरु हुन्छ। जसले हरेक बिहान अरु पसलेहरु जस्तै गरि आफ्नो पसलको झ्यालमा एउटा बोर्ड राख्छ, “संसारका मजदुरहरु एक होऔं”
उक्त पसलेलाई मात्र होइन अरु कसैलाई पनि त्यो नारामा विश्वास थिएन। तर उनीहरुले त्यो बोर्ड आज्ञाकारी देखिन र सजिलो सँग जीवन बाँच्नका लागि राखेका थिए । त्यो प्रणाली केवल डरका कारण टिकेको थियो जहाँ साधारण मानिसहरूले व्यक्तिगत रूपमा झुटो ठानेको कुरालाई सार्वजनिक रूपमा चाही सत्यजस्तो मानेर आलिङ्गिन गरिरहेकाले टिकेको हुन्छ।
हावेलले यसलाई “झुटको पर्दा भित्र बाँच्नु” भनेका थिए। प्रणालीको शक्ति सत्यबाट होइन, सबैले सत्यजस्तो अभिनय गर्न तयार भएपछि आउँछ। र यसको कमजोरी कडी पनि त्यहीँ हो, जब एउटाले मात्र त्यो अभिनय गर्न छोडी पसलबाट आफ्नो बोर्ड हटाउँछ, भ्रम स्वत चिरिन थाल्छ।
यही सन्दर्भ जोड्दै प्रधानमन्त्री कार्नीले भने, “अब देश र कम्पनीहरूले पनि आफ्ना झ्यालबाट साइनबोर्ड हटाउने समय आएको छ।”
उनका अनुसार क्यानडाजस्ता देशहरू दशकौँसम्म तथाकथित ‘नियममा आधारित अन्तर्राष्ट्रिय व्यवस्था’ अन्तर्गत फस्टाए। त्यसका प्रणाली अपनाइयो, फाइदाहरुको प्रशंसा गरियो र त्यसको स्थिरताबाट लाभ उठाइयो। तर सबैलाई थाहा थियो, यो व्यवस्था पूर्ण रूपमा सत्य थिएन। शक्तिशाली देशहरू आफुलाई चाहिँदा नियमबाट उम्किन्थे, व्यापारका नियम असमान रूपमा लागू हुन्थे र अन्तर्राष्ट्रिय कानुनको परिभाषा दोषी कुन देश हो भन्ने आधारमा फरक रुपले प्रयोग हुन्थ्यो।
“यो परिकल्पना उपयोगी थियो,” कार्नीले भने, “र अमेरिकी प्रभुत्वले समुद्री मार्ग, वित्तीय स्थिरता र सामूहिक सुरक्षाजस्ता सार्वजनिक लाभ दिएको पनि सत्य हो। त्यसैले हामीले पनि आफ्नो फाइदा अनुरुप झ्यालमा साइनबोर्ड राखिरह्यौँ।”
तर अब त्यो सम्झौता काम नलाग्ने भएको उनको निष्कर्ष छ। कार्नीका अनुसार विश्व अहिले संक्रमणको होइन, स्पष्ट विभाजनको युग मा प्रवेश गरिसकेको छ। व्यापार, आपूर्ति श्रृंखला, वित्तीय प्रणाली र ट्यारिफलाई शक्तिशाली देशहरूले हतियारका रूपमा प्रयोग गर्न थालेका छन्। “जब पारस्परिकता नै अधीनस्थताको स्रोत बन्छ, तब पारस्परिक लाभको झुटो कथाभित्र बाँच्न सकिँदैन,” उनले भने।
प्रधानमन्त्री कार्नीले डब्लुटिव, संयुक्त राष्ट्रसंघ र कोप जस्ता बहुपक्षीय संस्थाहरू कमजोर बन्दै गएको उल्लेख गर्दै धेरै देशहरू अब ऊर्जा, खाद्य, खनिज, रक्षा र आपूर्ति श्रृंखलामा आत्मनिर्भर बन्न बाध्य भएको बताए। तर यो परिस्थिति अनुरुप सबै देशले आआफ्नै किल्ला आफै बनाउने हो भने संसार अझ गरिब, अस्थिर र असुरक्षित बन्ने चेतावनी पनि दिए।
कार्नीले युरोपेली संघसँग रणनीतिक साझेदारी, चीन र कतारसँग नयाँ सहकार्य, भारत, आसियान र अन्य मुलुकसँग व्यापार सम्झौता अघि बढाइरहेको जानकारी दिए। युक्रेन, आर्कटिक सुरक्षा, नेटोसंगको प्रतिबद्धता, एआई र महत्वपूर्ण खनिजमा पनि क्यानडाले समान सोच भएका देशहरूसँग गठबन्धन बनाइरहेको उनले बताए।
उनको स्पष्ट सन्देश थियो “मध्यम शक्ति राष्ट्रहरु एक भएर टेबलमा बसेनौ भने, हामीलाई मेनुमा रखिने छ ।”
महाशक्तिको दबाबमा एक्लाएक्लै झुक्नु सार्वभौमिकता नभई स्वतन्त्रत को अभिनय मात्र भएको उनले टिप्पणी गरे।
उनले अब क्यानडाको नयाँ नीति ‘मूल्य–आधारित यथार्थवाद’ भएको स्पष्ट पार्दै क्यानडा अब केवल मूल्यको बलमा होइन, आफ्नै शक्तिको मूल्यमा पनि उभिने बताए। कर कटौती, आन्तरिक व्यापार अवरोध हटाउने, ऊर्जा, एआई, महत्वपूर्ण खनिज र रक्षा क्षेत्रमा बृहत लगानी, तथा रक्षा खर्च दोब्बर बनाउने योजना उनले सार्वजनिक गरे।
भाषणको अन्त्यमा कार्नीले स्पष्ट सन्देश दिदै भने “पुरानो विश्व व्यवस्था अब फर्किँदैन। त्यसको शोक गर्नु अहिलेको रणनीति हुन सक्दैन। अब सत्य बोल्ने, आफ्नै शक्ति निर्माण गर्ने र मिलेर अघि बढ्ने समय आएको छ। क्यानडाले झ्यालबाट साइनबोर्ड हटाइसकेको छ।”
प्रधानमन्त्री कार्नीको यो भाषणलाई विश्व राजनीति र क्यानडाको विदेश नीतिमा निर्णायक मोडका रूपमा हेरिएको छ।







