काठमाडौं । एमालेमा अब इतर पक्षको नेतृत्व गोकर्ण विष्ट र योगेश भट्टराईले गर्ने भएका छन् । विष्ट उपाध्यक्ष र भट्टराई उपमहासचिवमा विजयी भएका छन् । १९ पदाधिकारीमध्ये ईश्वर पोखरेल समूहबाट यी दुईजना मात्र निर्वाचित हुन सके ।

आफू विजयी हुनेवित्तिकै योगेशले आफ्नो समूहको विचार र भावनालाई सशक्त रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले ईश्वर पोखरेल र सुरेन्द्र पाण्डेको मार्गदर्शनअनुसार नै आफू चल्ने बताएका छन् ।

एमाले अध्यक्ष केपी ओलीका दाहिने हात मानिने विष्णु रिमाल पराजित भएका छन् । रिमाल उपमहासचिवमा पराजित भएका हुन् । ९ पदाधिकारीमध्ये अध्यक्षसहित १७ जना ओली प्यानलबाट निर्वाचित हुँदा रिमालले भने जित दर्ता गर्न सकेनन् । तीनजना निर्वाचित हुने उपमहासचिव पदमा उनी चौथो स्थानमा रहे । उपमहासचिवमा पूर्वमाओवादी नेता लेखराजले भट्ट सबैभन्दा बढी भोट पाएका छन् । ओली प्यानलका उनले १४ सय ५२ मत ल्याए ।

ओली समूहकै रघुवीर महासेठ दोस्रो बढी मतसहित विजयी हुँदा ईश्वर पोखरेल प्यानलका योगेश भट्टराई तेस्रो हुँदै उपमहासचिव चुनिए । माओवादीबाट आएका लेखराज र ईश्वर प्यानलका योगेशको भन्दा कम मत पाएका रिमालले जम्मा एक हजार ९१ भोट ल्याउन सके । अहिलेसम्म भूगोलको राजनीति नगरेका रिमाल ओलीका अति विश्वासपात्रका रूपमा चिनिन्छन् ।

ओली तीनचोटि प्रधानमन्त्री हुँदा प्रमुख राजनीतिक सल्लाहकार रहेका उनी दशौँ महाधिवेशनमा प्रतिस्पर्धाविनै उपमहासचिव चुनिएका थिए । यसपटक ओली प्यानलबाट सोही पदमा उठेका उनी भारी मतले पराजित भएका हुन् । रिमालको ल्यापटपलाई नै एमालेको केन्द्रीय कमिटी भनेर बुझ्ने गरिन्थ्यो । एमालेको पूरै संगठन रिमालको ल्यापटपमा रहेको उनले भनेकै आधारमा ओलीले निर्णय गर्ने गरेको एमालेजनको बुझाइ छ ।

रिमालले ओलीलाई गलत सल्लाह दिएकै कारण भदौ २३ र २४ को घटना घटेको अधिकांश एमालेजनको बुझाई देखिन्छ ।