काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह बालेन र हामी नेपाल एनजिओका प्रमुख सुधन गुरुङ आइतबार औपचारिक रूपमा रास्वपा प्रवेश गर्दैछन् । दिउँसो साढे ३ बजे रास्वपा केन्द्रीय कार्यालयमा औपचारिक रूपमा पार्टी प्रवेश गर्ने कार्यक्रम रहेको सुधनले जानकारी दिएका छन् ।

सुधन गुरुङ गत भदौ २३ र २४ को जेनजी आन्दोलनपछि लाइमलाइटमा आएका युवा हुन् । जेनजी आन्दोलनमा सहभागीलाई पानी वितरण गर्दागर्दै पछि उनले आन्दोलन नै हाइज्याक गरेका थिए । त्यसमा बालेनको ठूलो भूमिका थियो । बालेनले सुधनलाई अग्रपंक्तिमा राखेर नयाँ सरकार गठनदेखि अन्य निर्णय गराउँदै आएका थिए । गुरुङले पद, शक्ति वा व्यक्तिगत स्वार्थका लागि नभई जनताको अपेक्षा र जिम्मेवारीप्रतिको प्रतिबद्धताबाट आफूले यस्तो निर्णय गरेको बताएका छन् ।

‘आज दिउँसो ३ः३० बजे, बालेन शाह र म औपचारिक रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्दैछौँ। यो निर्णय पद, शक्ति वा व्यक्तिगत स्वार्थका लागि होइन, जनताको अपेक्षा र जिम्मेवारीप्रतिको प्रतिबद्धताबाट आएको हो। तपाईंहरूले माग गर्नुभएको जवाफदेहिता, दिशा र नतिजालाई अब संस्थागत रूपमा अघि बढाउने समय आएको छ। जनहित पहिलो प्राथमिकता रहनेछ, युवाको विश्वास सुरक्षित रहनेछ, र परिवर्तनलाई स्थायी बनाइनेछ। यो यात्रा तपाईंहरूसँगै अघि बढ्छ,’ उनले भनेका छन् ।

रास्वपाले यसअघि नै बालेनलाई वरिष्ठ नेतामा मनोनीत गर्दै प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेको छ । अघिल्लो स्थानीय तहको निर्वाचनमा स्वतन्त्रबाट जितेका बालेन दलीय राजनीतिमा लागेका हुन् । दल र नेताहरूको खेदो खन्ने बालेन अब आफैंको दलको कार्यकर्ता बनेका छन् । उनी आइतबार रास्वपा प्रवेश गरेर जनकपुरधाम प्रस्थान गर्ने भएका छन् ।

बालेन आउने भनेसँगै यतिबेला रास्वपा पार्टी कार्यालयमा भीड लागेकाे छ । उनी रास्वपाकाे केन्द्रीय समिति बैठकमा सहभागी हुनेछन् । रास्वपाले आजै १६५ निर्वाचन क्षेत्रमा उम्मेदवारकाे टुंगाे लगाउने भएकाे छ ।