काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले भूकम्प सुरक्षा दिवसको अवसरमा सार्वजनिक वक्तव्यमार्फत नेपालको विकास र सुरक्षित राष्ट्र निर्माणका लागि दीर्घकालीन सोच र इमानदार नेतृत्व आवश्यक रहेको बताएका छन्। २०७२ सालको विनाशकारी भूकम्पपछिको आफ्नो पेशागत यात्रालाई स्मरण गर्दै उनले सिभिल इन्जिनियरका रूपमा देशका ३५ भन्दा बढी जिल्लामा काम गरेको अनुभव साझा गरेका छन्।

शाहका अनुसार काभ्रेमा मात्रै करिब २५ सय घर निर्माणमा संलग्न हुँदै गोरखासहित विभिन्न जिल्लामा पुनर्निर्माणको काम गर्दा उनले एउटा स्पष्ट पाठ सिके— नेपालजस्तो भूकम्पीय जोखिम भएको मुलुक केवल सिभिल इन्जिनियरिङको दृष्टिकोणबाट मात्र निर्माण हुन सक्दैन। भौगोलिक संरचना र विविध समाजलाई सँगसँगै माथि उठाउने समग्र प्रयास आवश्यक रहेको उनको भनाइ छ।

ADVERTISEMENT

सुरक्षित राष्ट्र निर्माणका लागि स्ट्रक्चरल इन्जिनियरिङ, दीर्घकालीन योजना, मौलिक र आधुनिक विकासबीचको सन्तुलन, जिम्मेवार नीति तथा इमानदार नेतृत्व अपरिहार्य रहेको उल्लेख गर्दै उनले यही बुझाइका साथ भारतमा स्ट्रक्चरल इन्जिनियरिङ अध्ययन गरेको बताए। अध्ययनपछि सुविधा सम्पन्न देशमा काम गर्ने अवसर हुँदाहुँदै पनि देश फर्किने निर्णय गरेको उनले स्मरण गरे।

काठमाडौं महानगरपालिकाको प्रमुखको रूपमा नागरिकको विश्वासका कारण आफूले जिम्मेवारी सम्हालेको बताउँदै शाहले शब्दभन्दा कामलाई प्राथमिकता दिइएको दाबी गरे। स्थानीय तहले अधिकार प्रयोग गरी आम नागरिकले प्रत्यक्ष अनुभूति गर्न सक्ने सेवा, पारदर्शी प्रणाली र संरचनागत सुधारको थालनी महानगरबाट भएको उनको भनाइ छ। उनले अब यी अभ्यासलाई राष्ट्रिय स्तरमा विस्तार गर्ने समय आएको बताएका छन्।

ADVERTISEMENT

शाहले विकासलाई सडक, भवन र ठूला संरचनामा मात्र सीमित गर्न नहुने उल्लेख गर्दै सुरक्षित संरचना, जनताको आशा र देशमै केही गर्न सकिने वातावरण निर्माण नै साँचो विकास भएको धारणा राखे। संस्थागत विकास कागजमा होइन, जनताले अनुभूत गर्न पाउने हुनुपर्ने भन्दै उनले आशाको सञ्चारसँगै इमानदारीपूर्वक देश अघि बढाउनुपर्नेमा जोड दिए।

स्ट्रक्चरल इन्जिनियरका रूपमा आफ्नो निष्कर्ष प्रस्तुत गर्दै उनले देशलाई अब अल्पकालीन निर्णय र लोकप्रिय नाराभन्दा दीर्घकालीन दृष्टिकोण र इमानदार नेतृत्व चाहिएको बताए। “नीति संकट आउनुअघि तयारी हुने होस्, संरचना विपद् सहनसक्ने बनोस् र शासनले जनताको विश्वास जितोस्,” शाहले भनेका छन्।

उनले यो अभियान कुनै एक व्यक्तिको नभई सुरक्षित भविष्य चाहने सबै नेपालीको साझा अभियान भएको उल्लेख गर्दै सबैको साथ, सहयोग र विश्वाससहित राष्ट्र निर्माणको यात्रामा अघि बढ्ने समय आएको सन्देश दिएका छन्।