काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक पार्टी कार्यालय सानेपामा सुरु भएको छ । बुधबार बिहान ८ बजे बोलाइएको बैठक दिउँसो १ बजे सारिएको थियो । झन्डै दुई घन्टापछि बैठक सुरु भएको हो ।
आजको केन्द्रीय समिति बैठकले विशेष महाधिवेशन आह्वानकर्ता महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासहित १६ केन्द्रीय नेतालाई पार्टीबाटै निकाल्ने निर्णय गर्ने सम्भावना अधिक छ । कांग्रेस सभापति शेरबहादुर देउवा र महामन्त्री थापा-शर्माबीच सहमति नजुटेपछि केन्द्रीय समिति बैठक अनुशासनको कारबाही गर्ने निर्णयमा पुगेको नेताहरूले बताएका छन् ।
भृकटीमण्डपमा पुस २७ गतेदेखि सुरु भएको विशेष महाधिवेशनले गगन थापालाई सभापति निर्वाचित गर्ने तयारी गरेको छ । नयाँ कार्यसमितिको निर्वाचनमा महामन्त्री थापाको मात्र सभापतिमा उम्मेदवारी परेकाले उनी निर्विरोध भएका हुन् । निर्वाचन समितिले उनलाई सभापतिमा विजयी भएको घोषणा गर्न मात्र बाँकी छ । त्यसअघि कांग्रेस विभाजन हुनबाट रोक्न सभापति देउवा र महामन्त्री थापा र शर्माले बुधबार छलफल गरेका थिए । त्यसपछि पनि विशेष महाधिवेशन पक्षले सहमतिका लागि भन्दै आठबुँदे अन्तिम पत्र पठाएका छन् । तर तीनवटा बुँदा नमान्ने संस्थापन पक्षले बताएको छ ।
केन्द्रीय समिति बैठकमा उपस्थित नेताहरूको अनुहारले कांग्रेसमा सम्भावित विग्रहको चित्रण गर्छ । कार्यबाहक सभापतिदेखि अधिकांश केन्द्रीय सदस्यरूको अनुहार मलिन र अँध्यारो देखिन्छ । यसले पार्टीमा निष्कासन पर्व सुरु हुने आकलन गरिएको छ ।







