काठमाडौँ। तथ्यांक विभागले आज सार्वजनिक गरेको गरिबीको लघुक्षेत्र अनुमान प्रतिवेदन अनुसार नेपालभर गरिबीको अवस्था अत्यन्त असमान देखिएको छ। प्रतिवेदनले जिल्ला र स्थानीय तहगत गरिबीको स्पष्ट तस्बिर प्रस्तुत गरेको छ।

स्थानीय तहगत विश्लेषणअनुसार ३०९ स्थानीय तहमा गरिबीको दर राष्ट्रिय औसत २०.२७ प्रतिशतभन्दा कम रहेको छ भने ४४४ स्थानीय तहमा गरिबीको दर राष्ट्रिय औसतभन्दा बढी देखिएको छ। स्थानीय तहमा गरिबीको दर न्यूनतम १.१८ प्रतिशतदेखि अधिकतम ७७.८९ प्रतिशतसम्म फरक–फरक रहेको प्रतिवेदनले जनाएको छ।

स्थानीय तहमध्ये सबैभन्दा बढी गरिबीको दर ७७.८९ प्रतिशत जाजरकोट जिल्लाको जुनीचाँदे गाउँपालिकामा रहेको छ। त्यसको विपरीत, सबैभन्दा कम १.१८ प्रतिशत गरिबीको दर मुस्ताङ जिल्लाको घरपझोङ गाउँपालिकामा रहेको तथ्यांकमा उल्लेख छ।

गरिबीको रेखामुनि रहेको जनसङ्ख्याका आधारमा भने काठमाडौँ महानगरपालिका अग्रस्थानमा देखिएको छ। काठमाडौँ महानगरपालिकामा ५९ हजार २१८ जना गरिबीको रेखामुनि रहेका छन्। यद्यपि, काठमाडौँ महानगरपालिकाको गरिबी दर भने ६.८७ प्रतिशत मात्र रहेको प्रतिवेदनले देखाएको छ।

जिल्लागत रूपमा हेर्दा सबैभन्दा धेरै गरिबीको दर सुदूरपश्चिम प्रदेशको अछाम जिल्लामा ४९.५८ प्रतिशत रहेको छ। त्यसैगरी सबैभन्दा कम गरिबीको दर गण्डकी प्रदेशको कास्की जिल्लामा ५.६३ प्रतिशत रहेको छ।

जिल्लागत समग्र विश्लेषणअनुसार ३४ जिल्लामा गरिबीको दर राष्ट्रिय औसतभन्दा कम रहेको छ भने ४३ जिल्लामा गरिबीको दर राष्ट्रिय औसतभन्दा बढी रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ।

प्रतिवेदनले भौगोलिक अवस्था, विकासको पहुँच र सेवा–सुविधाको असमानताका कारण गरिबीको वितरणमा ठूलो अन्तर देखिएको संकेत गरेको छ।