काठमाडौं । नेपाल पर्यटन बोर्डले आफ्नो २७औं स्थापना दिवसको अवसरमा ‘नेपाल-आसियान पर्यटन वर्ष २०२६’ मनाउने घोषणा गरेको छ ।
बोर्डका कार्यकारी प्रमुख अधिकृत दीपकराज जोशीले बुधबार उद्घाटन समारोहमा आसियान मुलुकलाई नेपालका लागि उच्च सम्भावनायुक्त बजारका रूपमा प्रस्तुत गर्दै सन् २०२६ लाई लक्षित विशेष रणनीति सार्वजनिक गरेका हुन् ।
सीईओ जोशीका अनुसार हालसम्म एक लाख सात हजारभन्दा बढी आसियान मुलुकका पर्यटक नेपाल भित्रिसकेका छन्, जुन नेपालका लागि ठूलो र दीर्घकालीन बजार हो । ‘बौद्ध तथा आध्यात्मिक पर्यटन, प्रकृति र साहसिक पर्यटन, वेलनेस र आयुर्वेद, संस्कृति तथा समुदायमा आधारित पर्यटनमार्फत आसियान बजारमा नेपाललाई सशक्त रूपमा स्थापित गरिनेछ,’ उनले भने ।
आगामी मार्गचित्र प्रस्तुत गर्दै जोशीले २०२६–२०३५ रणनीतिक कार्ययोजना, सहभागितामूलक दृष्टिकोण, डिजिटल–प्रेरित व्यावसायिकता, नवप्रवर्तनशील नीति र अभ्यासको समन्वय, स्थानीय र वैश्विक अनुभवको मिश्रण, अनुत्पादक कार्यक्रम हटाउने तथा उच्च मूल्य पर्यटनमा केन्द्रित हुने स्पष्ट गरेका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हा तथा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठ कार्यक्रममा सहभागी थिए । कार्यक्रममा पाटा सीईओ नुर अहमद हमिद, वर्ल्ड टुरिजम नेटवर्क र यूएन टुरिजमबाट भिडियो सन्देश जारी गरिएको छ । त्यसैगरी कार्यक्रमका अवसरमा बोर्डको वार्षिक प्रकाशन इन फोकस पनि विमोचन गरिएको छ ।

तस्बिरहरु : नेपाल फोटो लाइब्रेरी







