काठमाडौं । नेपाल पर्यटन बोर्डले सोसाइटी अफ ट्राभल एण्ड टुर अपरेटर्स नेपाल (सोट्टो) नेपालसँगको सहकार्यमा ट्राभल एण्ड टुर एजेन्सीहरूलाई काठमाडौंमा कर र कानुनी अनुपालनासम्बन्धी तालिम दिएको छ । काठमाडौंमा दुई दिने तालिम बिहीबारदेखि सुरु भएको हो । तालिममा विभिन्न ट्राभल तथा टुर एजेन्सीका ५० जना व्यवसायीहरूको सहभागिता रहेको छ ।
तालिममा विभिन्न प्रकारका करहरू, पर्यटन क्षेत्रमा लागू हुने करहरू, कर तिर्दा ध्यान दिनुपर्ने विषय, कानुनले प्रदत्त गरेका व्यवस्था र पालना गर्नुपर्ने कानुनी तथा अन्य व्यवहारिक पक्षहरू लगायतका विषयमा एजेन्सीका प्रमुख तथा प्रतिनिधिहरूलाई तालिम दिइएको छ । विशेषतः कर र भ्याटसम्बन्धी ऐन–कानुनको ज्ञानको अभावमा साना व्यवसायीहरूले ठूलो जरिवाना र झन्झट बेहोर्नुपरेको भन्दै तालिममा विशेषगरी व्यवहारिक ज्ञान प्रदान गरिएको छ ।
सोट्टो नेपालका अध्यक्ष मानबहादुर शाहीले व्यवसायीहरूले करका विषयमा भोग्नुपरेको झन्झट न्यूनीकरण गर्न आवश्यक ज्ञान प्रदान गर्ने उद्देश्यले एजेन्सीहरूलाई तालिम दिइएको बताएका छन् । तालिमबारे स्पष्ट पार्दै उनले भने, “कर कानुनमा हरेक वर्ष परिवर्तन हुने भए पनि करका आधारभूत सिद्धान्त स्थिर रहने भएकाले यससम्बन्धी ज्ञान व्यवसायको दीर्घकालीनताका लागि उपयोगी हुनेछ । त्यस्तै आर्थिक अनुशासन र पारदर्शिता बढाउन तालिमले सहयोग गर्नेछ ।” व्यवसाय गर्नेहरूले करसम्बन्धी सैद्धान्तिक जानकारीको अभावमा ठूलो जरिवानामा नपरोस् भनेर नै तालिम दिइएको शाहीको भनाइ छ ।
नेपाल पर्यटन बोर्डले कर भुक्तानी प्रक्रियाबारे हुने अज्ञानता वा लापरबाहीले कडा जरिवाना भोग्नुपर्ने अवस्था आउन सक्ने उल्लेख गर्दै यसबाट सचेत रहनुपर्ने जनाएको छ । सोही कारण सोट्टो नेपालसँगको सहकार्यमा व्यवसायीलाई तालिम प्रदान गरिएको बोर्डको भनाइ छ ।
विभिन्न फरक–फरक सेसनमा फरक–फरक विषयमा पर्यटन व्यवसायीलाई तालिम दिइएको छ । शुक्रबार तालिमको समापन गरिनेछ । बोर्डले सोट्टो नेपालसँगको सहकार्यमा आगामी महिनामा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धमा पनि एजेन्सी तथा पर्यटन व्यवसायीलाई तालिम प्रदान गर्ने भएको छ ।






