काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीले आज समानुपातिक बन्दसूची बुझाउने तयारी गरेको छ ।
सोमबार बिहानसम्म पनि रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरका मेयर बालेन्द्र साह बालेनसँगको वार्ता असफल भएपछि उज्यालो नेपालले एक्लै बन्दसूची बुझाउन लागेको हो ।
आगामी दिनमा रास्वपासँग एकता संवादको बाटो खुला राखेर समानुपातिक बन्दसूची बुझाउने तयारी भइरहेको उज्यालो नेपालका प्रवक्ता राजु थापाले बताए । रास्वपा र बालेनसँगको छलफल गरेर समानुपातिक सूची तयार पार्ने समय अभाव भएकाले अहिले एक्लै समानुपातिक सूची बुझाउन लागिएको उनको भनाइ छ ।
आइतबार साँझ पनि रवि, बालेन र मन्त्री घिसिङबीच छलफल भएको थियो । तर सहमति नभएपछि रास्वपासँगै बन्दसूची बुझाउने सम्भावना सकिएको हो । निर्वाचन आयोगले समानुपातिक बन्दसूची बुझाउनका लागि पुस १३ र १४ गतेको समय तोकेको छ ।
रास्वपासँगको छलफलमा एक नेताले १० प्रतिशत हैसियतमा सहकार्य गर्न प्रस्ताव गरेपछि कुलमानले अस्वीकार गरेको बताइन्छ । तत्काललाई एकताको सम्भावना टरे पनि चुनावका बेला कार्यगत एकता गर्न सकिने विकल्प भने उज्यालो नेपालले खुलै राखेको छ । बालेनले रविसँगको छलफलमा कुलमान आफूसँगै आउने बताएका थिए । स्राेतका अनुसार रास्वपा उपसभापति स्वर्णिम वाग्ले कुलमानलाई पार्टीमा ल्याउन चाहँदैनन् । उनकै कारण सहमति जुट्न नसकेकाे उज्यालाे नेपालका एक नेताले बताए ।





