काठमाडौं । आगामी फागुन २१ गते तोकिएको निर्वाचनमा जान कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड तयार देखिएका छन् ।

शनिबार प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटारमा बोलाएको शीर्ष तीन नेतासँगको छलफलमा देउवा र प्रचण्डले चुनावमा तयार रहेको जनाउ दिए । तर एमाले अध्यक्ष केपी ओली भने खुलेनन् ।

कांग्रेस, एमाले र नेकपाका शीर्ष नेतासँगको भेटमा प्रधानमन्त्री कार्कीले निर्वाचनका निम्ति आवश्यक वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको बताइन् ।

एमाले अध्यक्ष ओलीले निर्वाचनका निम्ति वातावरण बनाउनुपर्नेमा जोड दिएका थिए । त्यसपछि प्रधानमन्त्री कार्कीले उचित वातावरण बनाउने प्रतिबद्धता जनाएको बैठकमा सहभागी सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।

खरेलका अनुसार देउवा र प्रचण्डले पनि ओलीलाई निर्वाचनका निम्ति तयार हुन आग्रह गरेका थिए । देउवाले जेनजी आन्दोलनपछि पहिलोपटक मिडियालाई प्रतिक्रिया दिँदै चुनावमा जान कांग्रेस तयार रहेको बताए । उनले अन्य दल पनि चुनावमा जानुपर्ने बताए ।