काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेन आफ्नै नेतृत्वमा पार्टी खोल्ने मनस्थितिमा पुगेका छन् ।
बालेनले बुधबार ललितपुरको कुपन्डोलमा करिब ७ घण्टा फरक-फरक क्षेत्रका व्यक्तित्वसँग कुराकानी गरेका छन् । रास्वपा सभापति रवि लामिछाने र बालेनबीचको भेटले सार्थकता पाउने सम्भावना निकै कम रहेकाले अहिले भेटलाई तीव्रता दिइएको हो ।
निर्वाचन आयोगमा समानुपातिक सूची बनाउने समय निकै नजिक आएकाले अहिले छलफललाई तीव्रता दिनुपरेको ती नेताले जानकारी दिए । बुधबारको छलफलमा पत्रकार, उद्योगी, व्यवसायी, जेनजी प्रतिनिधि, केही दलका नेताहरुलगायतसँग पनि भेट गरेका थिए ।
विवेकशील पार्टी छाडेका मिलन पाण्डे, रमेश पौडेल, जेनजी प्रतिनिधि रक्षा बम, सीके राउत, रेशम चौधरी, सुरजसिंह ठकुरी, सम्भव सिरोहियालगायतसँग छलफल गरेको बताइन्छ । बालेनले कुन पार्टीलाई अघि बढाउने भन्ने कुनै निर्णय नभए पनि यसअघि लौरो चुनाव चिह्न लिएर निर्वाचन आयोगमा दर्ता भएको पार्टीको नेतृत्व गरेर जाने विषयमा छलफल भएको थियो ।
रवि र बालेनबीच ६ घन्टा लामो छलफल भएपछि रास्वपा निकै उत्साहित थियो । तर रविले प्रधानमन्त्रीको विषयमा केही कुराकानी नभएको बताएपछि बालेनलाई प्रधानमन्त्रीका रूपमा अघि सारिएको भन्ने कुरा स्टन्टका लागि मात्र रहेछ भन्ने देखिएको छ । बालेन निकट गणेश पौडेलका अनुसार रास्वपामा बालेन र कुलमान घिसिङ मिसिने सम्भावना निकै कम छ ।
‘काठमाडौँदेखि टाढा पोखराबाट हेर्दा मैले बुझेको कुरा के हो भने रास्वपा–उज्यालो नेपालबीचको एकता प्रयास असफल भइसकेको छ भने रवि–बालेनबीच भेटघाट र सकारात्मक संवाद भएको भनिए पनि त्यहाँ कुनै राजनीतिक सहमति हुने सम्भावना थिएन। वैकल्पिक शक्तिहरूबीचको छलफल जारी छ, तर नेतृत्व र स्वार्थका कारण टुंगोमा पुग्न कठिन देखिन्छ,’ पौडेलले भने ।







