काठमाडौँ। प्रहरी र नागरिकबीचको सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यले काठमाडौँ प्रहरीले ‘हाम्रो प्रहरी’ अभियान सञ्चालन गर्ने भएको छ ।
यो अभियान यसअघि सञ्चालित ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रमकै निरन्तरतामा आधारित रहेको छ र प्रहरी जनताकै हो भन्ने अवधारणालाई स्थापित गर्न केन्द्रित छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापाले अभियानको बारेमा जानकारी दिँदै जेनजी आन्दोलनपछि प्रहरी सङ्गठनलाई सेवामा फर्काउन जनस्तरबाट भएको पहलको भावनालाई सम्मान गर्दै यो अवधारणा अघि सारिएको बताए।
“हाम्रो प्रहरी अभियानबाट प्रहरी आम नागरिकको हो भन्ने भावनालाई बलियो बनाई नागरिक समाज र प्रहरीबीचको सुसम्बन्धलाई बढावा दिने लक्ष्य राखिएको छ,” एसएसपी थापाले भने , “यसले प्रहरी र नागरिकबीचको अविश्वास हटाउन, अपराध न्यूनीकरण गर्न, कुरीति अन्त्य गर्न, सुशासन कायम गर्न र सामाजिक सुव्यवस्था कायम राख्न मद्दत पुग्नेछ ।”
अभियानअन्तर्गत मङ्गलबारदेखि नै विभिन्न प्रहरी युनिटहरूबाट जनसम्बन्ध विस्तारका कामहरू सुरु भएका छन् । “टोल-टोलमा प्रहरी कर्मचारीहरू स्थानीय बासिन्दासँग भेटघाट गर्न घरदैलोमा पुग्नुभएको छ,” थापाले भन्नुभयो, “छिट्टै विद्यालय र क्याम्पसहरूमा युवाहरूसँग प्रहरीको महत्व र सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिनेछ ।”
समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत लामो समयदेखि प्रहरीले स्थानीय तह, विद्यालय, क्लब तथा विभिन्न सङ्घसंस्थामा पुगेर अपराध न्यूनीकरण, कुरीति अन्त्य र सामाजिक सचेतना जगाउने काम गर्दै आएको छ ।
यो नयाँ अभियानले राजधानीमा शान्ति र सुरक्षा कायम राख्न जनसहभागिता र विश्वास अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।












