काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार सामान्य अंकले बढेर बन्द भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) एक दशमलव शून्य दुई अंकले बढेको छ ।
सोमबारको तुलनामा मंगलबार शून्य दशमलव शून्य तीन प्रतिशतले बढेर नेप्से २५८२.२३ विन्दुमा बन्द भएको छ । पछिल्ला तीन कारोबार दिनयता नेप्से निरन्तर घटिरहेको थियो । गत बिहीबार १०.६६, आइतबार १९।९२ र सोमबार १३.८८ अंकले घटेको थियो ।
कुल १२९ कम्पनीको सेयर मूल्य बढ्यो, १२० कम्पनीको घट्यो भने १० कम्पनीको मूल्य स्थिर रह्यो । कुल ९२ हजार ४४७ पटकको सेयर किनबेचबाट तीन अर्ब ४१ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।
कारोबार रकमका आधारमा एसवाई प्यानल नेपाल कम्पनीको ३० करोड ९८ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ। सागर डिष्टिलरीको साढे आठ करोड र सिईडिबी होल्डिङसको कारोबार रकम सात करोड रुपैयाँ नाघेको छ।
एसवाई प्यानल नेपालको सेयरमूल्य सर्वाधिक ७.०१ प्रतिशत बढेको छ। गुराँस लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य ६ प्रतिशत बढेको छ भने सयपत्री हाइड्रोपावर र ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य करिब ६ प्रतिशत बढेको छ।





