काठमाडौं । नेपाल चिकित्सक संघले आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिएसँगै बिहीबारदेखि अस्पतालमा नियमित रूपमा सबै सेवा सुचारु भएका छन् ।
सरकार र आन्दोलनरत चिकित्सकबीच बुधबार साँझ सहमति भएसँगै बिहीबारदेखि अस्पतालहरूले नियमित रूपमा आफ्नो सबै सेवा दिन शुरु गरेका हुन् ।
बुधबार स्वास्थ्य मन्त्रालयका प्रतिनिधि र चिकित्सक संघबीचको वार्तामा पाँच बुँदे सहमति भएको थियो । सहमतिसँगै चिकित्सक संघले आन्दोलनका सम्पूर्ण कार्य फिर्ता गरेको थियो ।
वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सकमाथि भएको आक्रमणको विरोधमा चिकित्सकहरू आन्दोलित बनेका थिए । संघको आह्वानमा मंगलबार र बुधबार देशैभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा ठप्प पारिएको थियो ।





