काठमाडौं । यतिबेला अभिनेत्री तथा उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रिमा विश्वकर्मा एमाले अध्यक्ष केपी ओलीप्रति निकै आक्रामक सुनिएकी छन् । बुधबार प्रज्ञा भवन कमलादीमा आयोजित उज्यालो नेपाल पार्टीको घोषणा सभामा विश्वकर्माले ओलीलाई अमाचकारी गाली गरिन् ।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका बेला ओली प्रधानमन्त्री थिए । प्रधानमन्त्रीको कुर्सीमा बसेर पनि गोली चलेको थाहा नपाउने व्यक्ति पनि प्रधानमन्त्री हुन्छ र भन्दै विश्वकर्माले अब यस्ता नेताबाट देश नचल्ने भन्दै कुलमान घिसिङको प्रशंसा गरिन् ।
देशमा लोडसेडिङ हटाउन कुलमानले भूमिका खेलेको भन्दै त्यहीबेलाबाट आफू उनको प्रशंसक भएको रिमाको भनाइ थियो । तर तिनै रिमाको कुनै बेला ओलीसँग गज्जबको केमेस्ट्री थियो ।
एक वर्षअघिसम्म पनि रिमा विश्वकर्मा ओलीको निकै गुनगान गाउँथिन् । ओली प्रधानमन्त्री नभएका बेला बालकोटमा रहँदा पनि रिमाको आउजाउ बाक्लै थियो ।
ओलीसँग बसेर कफी खाने, टेबलटेनिस खेल्ने गर्थिन् । सार्वजनिक रूपमै ओली जस्तो नेता नेपालमा नभएको भनेर प्रशंसा गरेका भिडियोका क्लिप अहिले पनि पाइन्छ । तर राजनीतिक पार्टीमा आबद्ध हुनेवित्तिकै रिमाले टीआरपीकै लागि ओलीमाथि किन विम वमन गरेकी हुन् भन्ने आश्चर्य मानिएको छ ।
कुनै समय नेपालका धेरै कलाकार ओलीका प्रशंसक थिए । भारतले नाकाबन्दी लगाएका बेला ओली नझुकेको भन्दै उनको तारिफ गर्थे । तर अहिले त्यसरी ओलीको प्रशंसा गर्ने धेरै कलाकार उनीसँग चिढिएका छन् । खासगरी जेनजी आन्दोलनमा निर्दोष १९ जना युवा राज्यबाट मारिएपछि ओलीको आलोचना भइरहेको छ ।








