काठमाडौं । कांग्रेस नेता डा.शशांक कोइरालाले मंगलबार दिएको अभिव्यक्तिले संस्थापन पक्षमा हलचल मच्चिएको छ । अहिलेसम्म संस्थापन पक्षमा रहँदै आएका शशांकले १५ औं महाधिवेशनमा शेखर र आफूबिच एकजना सभापतिमा उठ्ने बताएपछि सभापति शेरबहादुर देउवा खेमामा तरंग सिर्जना भएको हो ।
मंगलबार चितवनको भरतपुरमा पत्रकारहरुसँग कुराकानी गर्दै शशांकले भने, ‘सभापतिका लागि लड्ने भनेको थिएँ । शेखर दाइ हुनुहुन्छ । उहाँ पनि इच्छुक हुनुहुन्छ । कुरा भइरहेको छ । दुईजनामध्ये एकजना लड्छौँ ।’
यसले के देखाउँछ भने कांग्रेसको विरासत फेरि पनि कोइराला परिवारमा ल्याउने तयारी भित्रभित्रै हुँदैछ । शेखरले खुलेआम रूपमा आफूले सभापतिमा जित्ने बताउँदै आएका छन् । उनलाई अहिले देउवा पक्षका केही प्रभावशाली नेताले समेत साथ दिएका छन् । महााधिवेशनसम्म देउवाले पनि समर्थन रहने उनकाे विश्वास छ ।
कोइराला परिवारको विरासत बोक्नेमा शेखर, शशांक र सुजाता छन् । सुजाता उमेर र रोगका कारण त्यति सक्रिय छैनन् । शशांक सात भाइमा सहभागी हुँदै आएका थिए । तर पछिल्लो समय उनी त्यहाँ पनि त्यति सक्रिय छैनन् । शशांकले देउवाले आफूलाई सभापतिमा सहयोग गर्ने अपेक्षा गरेका थिए । तर पछिल्लो समय त्यसको संकेत नपाएपछि उनी शेखरलाई सभापतिमा समर्थन गर्ने र कांग्रेसको विरात फेरि कोइराला परिवारमा ल्याउने अभियानमा संलग्न भएको नेताहरुको भनाइ छ ।
कांग्रेस महाधिवेशन पुस २६-२८ सम्म गर्ने कार्यतालिका सार्वजनिक भइसकेको छ । बुधबारदेखि नै कांग्रेसले क्रियाशील सदस्यता वितरण सम्बन्धमा निर्णय गर्दैछ । तर आगामी सभापति को भन्ने अझै खुलेको छैन । अहिलेसम्मको सिनारियो हेर्दा शेखर कोइराला, गगन थापा र संस्थापनबाट एक गरी तीनजना सभापतिका उम्मेदवार हुने सम्धावना छ ।







