काठमाडौं। विश्वकप फुटबलअन्तर्गत क्रोएसियाविरुद्धको रोमाञ्चक खेलमा इंग्ल्याण्ड ४–२ गोलअन्तरले विजयी भएको छ। अमेरिकामा सम्पन्न खेलमा कप्तान ह्यारी केनले दुई गोल गर्दै टोलीको जितमा निर्णायक भूमिका खेले।
खेलको १०औँ मिनेटमा लुका मोड्रिचको फाउलपछि प्राप्त पेनाल्टीलाई गोलमा परिणत गर्दै केनले इंग्ल्याण्डलाई अग्रता दिलाएका थिए। उक्त गोलसँगै केन विश्वकपमा पेनाल्टीमार्फत सर्वाधिक पाँच गोल गर्ने खेलाडी बने।
क्रोएसियाले ३६औँ मिनेटमा पेटर सुसिकको गोलमार्फत खेललाई १–१ को बराबरीमा ल्यायो। तर पहिलो हाफको ४१औँ मिनेटमा डेक्लान राइसको पासमा केनले आकर्षक हेडर गोल गर्दै इंग्ल्याण्डलाई पुनः अग्रता दिलाए। यससँगै उनले विश्वकपमा आफ्नो व्यक्तिगत गोल संख्या १० तथा इंग्ल्याण्डका लागि कुल ८१ गोल पुर्याए।
पहिलो हाफ सकिनुअघि पिटर मुसाले गोल गर्दै क्रोएसियालाई पुनः खेलमा फर्काए र पहिलो हाफ २–२ को बराबरीमा समाप्त भयो।
दोस्रो हाफमा इंग्ल्याण्ड थप आक्रामक रूपमा प्रस्तुत भयो। ४७औँ मिनेटमा जुड बेलिंघमले गोल गर्दै टोलीलाई ३–२ को अग्रता दिलाए। त्यसपछि ८५औँ मिनेटमा बुकायो साकाको पासमा मार्कस रासफोर्डले गोल थप्दै इंग्ल्याण्डको जित सुनिश्चित गरे।
यस जितसँगै इंग्ल्याण्डले प्रतियोगितामा महत्वपूर्ण तीन अंक जोडेको छ भने क्रोएसिया अंकविहीन रहन पुगेको छ।






