काठमाडौं। विश्वकप फुटबलअन्तर्गत पोर्चुगल र डीआर कंगोबीचको खेल १–१ को बराबरीमा सकिएको छ। अमेरिकामा सम्पन्न प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले एक–एक अंक बाँडेका हुन्।

खेलको छैटौँ मिनेटमै पोर्चुगलले अग्रता लिएको थियो। पेड्रो नेटोको उत्कृष्ट पासमा जोआओ नेभ्सले शक्तिशाली हेडरमार्फत गोल गर्दै टोलीलाई सुरुआती बढत दिलाएका थिए।

ADVERTISEMENT

पहिलो हाफको अन्तिम समयमा डीआर कंगोले खेलमा शानदार पुनरागमन गर्‍यो। आर्थर मोसाकाओको पासलाई योआन विनेसाले हेडरमार्फत गोलमा परिणत गर्दै खेललाई १–१ को बराबरीमा ल्याए। उक्त गोलसँगै डीआर कंगोले ५२ वर्षपछि विश्वकपमा आफ्नो पहिलो गोल गर्ने ऐतिहासिक उपलब्धि पनि हासिल गरेको छ।

दोस्रो हाफमा पोर्चुगलले पुनः अग्रता बनाउने अवसर पाएको थियो। खेलको ५५औँ मिनेटमा जुआओ क्यान्सेलोको आकर्षक एक्रोब्याटिक प्रहारले जाली चुमे पनि रेफ्रीले अफसाइड संकेत गरेपछि गोल मान्यता पाएन।

ADVERTISEMENT

विश्वकपमा २३औँ पटक सहभागी भएको पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो पनि खेलमा गोल गर्न असफल रहे। बाँकी समयमा दुवै टोलीले केही अवसर सिर्जना गरे पनि थप गोल हुन नसक्दा खेल बराबरीमा टुंगियो।

बराबरीसँगै पोर्चुगल र डीआर कंगोले समूह चरणको आफ्नो पहिलो खेलबाट एक–एक अंक जोड्न सफल भएका छन्।