काठमाडौं। सडक बोर्डले देशभरका २२ सडकबाट सडक उपभोग दस्तुर (टोल ट्याक्स))उठाउने तयारी गरेको छ ।
बोर्डले पाँच वर्षपछि पुनः यो दस्तुर उठाउने गृहकार्य गरेको हो । बोर्डका अनुसार देशका प्रमुख राजमार्गहरूमा सडकको अवस्था सुधार भई पूर्णता पाएका स्थानहरूमा क्रमशः टोल गेट राख्ने र दस्तुर उठाउने प्रक्रिया अघि बढाउन लागिएको हो ।
बोर्डका कार्यकारी निर्देशक गणेश बहादुर केसीका अनुसार पछिल्लो समयमा भैरहवा–भुमही सडक खण्डमा मंसिर १ गतेदेखि टोल ट्याक्स उठाउन सुरु भएको छ । उक्त खण्डमा ठुला सवारीलाई ३० रुपैयाँ र साना (चार पाङ्ग्रे) लाई २० रुपैयाँ पुरानै दर कायम गरिएको छ ।
यसबाहेक निकट समयमै नारायणगढ–हेटौंडा, मुग्लिन–नारायणगढ, मुग्लिन–पोखरा र वीरगञ्ज–पथलैया सडक खण्डमा टोल गेट स्थापना गरी दस्तुर उठाउने तयारी भइरहेको केसीले जानकारी दिए ।
कोभिड–१९ का कारण पछिल्लो समयमा दस्तुर उठाउने कार्य रोकिएको थियो । बोर्डका अनुसार देशभरका २२ सडक र नागढुङ्गा सुरुङमार्गबाट दस्तुर उठाउने तयारी भइरहेका छ । कोभिडअघि १५ वटा सडकबाट मात्र यस्तो कर उठाइने गरिन्थ्यो ।
२०८१ जेठ १७ गते बसेको मन्त्रिपरिषद् बैठकले सडक उपभोग दस्तुर उठाउने कार्यविधि नियमावली, २०८१ स्वीकृत गरिसकेको थियो, तर लागु भने भएको थिएन ।
२०८२ साउन २६ गते बसेको मन्त्रिपरिषद् बैठकले नागढुंगा सुरुङमार्गको दस्तुर तोकेको थियो । उक्त सुरुङमा तीन किसिमका सवारीलाई काठमाडौं आउँदा र काठमाडौंबाट बाहिरिँदासमेत फरक शुल्क तोकेको छ ।












