काठमाडौं । नेपाली कांग्रेसमा विशेष महाधिवेशन पक्षधरको भेला भृकुटीमण्डपमा सुरु भएको छ । कांग्रेसका पुराना नेता ओमकारप्रसाद श्रेष्ठको सभापतित्वमा भेला सुरु भएको हो । श्रेष्ठ २०१४ सालको कांग्रेस पहिलो विशेष महाधिवेशनमा सहभागी नेता हुन् ।

जेनजी आन्दोलनपछि विकसित परिस्थितिमा कांग्रेसका २४८८ अर्थात् ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गर्दै गत असोज २९ गते कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षर बुझाएका थिए। अहिलेसम्म यस विषयमा केही प्रक्रिया अघि बढेको छैन । कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले पनि विशेष महाधिवेशनबारे कुनै निर्णय गरेको छैन ।

यसअघि मंसिर ३ गते पत्रकार सम्मेलन गरेर विशेष महाधिवेशन पक्षधरका नेताहरूले विशेष महाधिवेशन आयोजना मिति र स्थान तोक्न माग गरेका थिए । महाधिवेशनबारे निर्णय लिन बिहीबार दिउँसो सानेपामा कांग्रेस केन्द्रीय समिति बैठक पनि बस्दैछ।

ADVERTISEMENT

पुसभित्रै नियमित महाधिवेशन नभए विशेष महाधिवेशनमा जानुपर्ने धारणा कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले राख्दै आएका छन् ।

ADVERTISEMENT

थापाले त कांग्रेस केन्द्रीय समिति बैठकमै अब नियमित महाधिवेशनको च्याप्टर क्लोज भएकाले विशेष महाधिवेशन हुने घोषणा नै गरेका छन् । तर कांग्रेसमा सभापति शेरबहादुर देउवा पक्ष चुनावअघि नियमित वा विशेष महाधिवेशन दुवै नगर्ने अडानमा छ । संस्थापन पक्षका नेताले विशेष महाधिवेशनलाई गियर नभएको गाडीका रूपमा चर्चा गरेका छन् ।

ADVERTISEMENT