काठमाडौँ । नियमित कि विशेष महाधिवेशन भन्ने विवादले कांग्रेसमा बिग्रह निम्तिने खतरा देखिएको छ ।

विशेष महाधिवेशनको माग गर्दै ५४ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिले हस्ताक्षर बुझाए पनि संस्थापन पक्ष नियमित महाधिवेशनमा जाने अडानमा रहेपछि इतर पक्ष असन्तुष्ट बनेको छ ।

ADVERTISEMENT

कांग्रेसमा विशेष महाधिवेशन माग गर्ने नेताहरुले संस्थापन पक्षलाई षड्यन्त्र नगर्न चेतावनी दिएका छन् । विशेष महाधिवेशन पक्षका नेता गुरुराज घिमिरेसहितका नेताहरुले आइतबार पत्रकार सम्मेलन गर्दै केन्द्रीय समितिको बैठकले छिट्टै निर्णय गर्ने विश्वास व्यक्त गरेका छन् ।

ADVERTISEMENT

कांग्रेस नेताहरुले ५४ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिहरुले विशेष महाधिवेशनको माग गरिसकेपछि केन्द्रीय समितिले अन्य विषयमा छलफल गर्न नमिल्ने दाबी गरेका छन् । उनीहरुले केन्द्रीय समितिको निर्णयअनुसार नै आफूहरुका आगामी कदम हुने बताएका छन् ।

अहिलेको संवेदनशील अवस्थामा पनि केन्द्रीय समितिको बैठक दुई तीन घन्टा गरिएको र लम्बाइएको भन्दै घिमिरेले असन्तुष्टि व्यक्त गरे ।
कांग्रेसमा विशेष महाधिवेशनको माग गर्दै असोज २१ गते ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर बुझाइएको थियो ।

कांग्रेसको विधानअनुसार केन्द्रीय कार्यसमितिले आवश्यक ठानेमा वा केन्द्रीय महाधिवेशनका चालीस प्रतिशत सदस्यहरूले केन्द्रीय महाधिवेशनको बैठक बोलाउन विशेष कारण खुलाई केन्द्रसमक्ष लिखित अनुरोध गरेमा निवेदन परेको तीन महिनाभित्रमा विशेष केन्द्रीय महाधिवेशन बोलाउनुपर्ने व्यवस्था छ ।

तर सभापति शेरबहादुर देउवा पक्ष नेताहरूले नियमित महाधिवेशनमा जानुपर्ने भन्दै केन्द्रीय समितिको कार्यकाल थप गर्ने तयारी गरेका छन् । यदि केन्द्रीय कार्यसमितिको कार्यकाल थप भएमा कांग्रेसमा विशेष महाधिवेशनका पक्षधरले छुट्टै महाधिवेशन बोलाएर नेतृत्व नयाँ चयन गर्ने चेतावनीसमेत दिएका छन् । यस्ताे अवस्थामा कांग्रेस एकढिक्का रहन नसक्ने बताइन्छ ।