काठमाडौं । चालु आर्थिक वर्ष ०८२/०८३ को पहिलो त्रैमासमा आयात–निर्यात दुवै बढेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ६ खर्ब ९ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको छ ।
अघिल्लो आर्थिक वर्षको तुलनामा आयात यो अवधीमा १८.७१ प्रतिशतले बढेको हो । आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा ५ खर्ब १३ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको थियो ।
चालु आर्थिक वर्षको चार महिनामा निर्यात ७७.५१ प्रतिशतले बढेको छ । भन्सार विभागकाअनुसार चालु आवको पहिलो त्रैमासमा ९३ अर्ब ४९ करोड रुपैयाँको वस्तु निर्यात भएको छ । अघिल्लो भएको यही अवधिमा ५२ अर्ब ६७ करोड रुपैँया बराबरको निर्यात भएको थियो ।
चार महिनामा नेपालले ७ खर्ब २ अर्ब ९४ करोड रुपैयाँको वैदेशिक व्यापार गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ५ खर्ब ६६ अर्ब ५ करोड रुपैयाँको वैदेशिक व्यापार गरेको थियो ।
चार महिनामा १३ प्रतिशतले ब्यापार घाटा बढेको छ । चालु आर्थिक वर्षको साउनदेखि कात्तिकसम्ममा ५ खर्ब १५ अर्ब ब्यापार घाटा देखिएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा मुलुकको व्यापार घाटा ४ खर्ब ५६० अर्ब रुपैयाँ रहेको थियो ।
चालु आव कात्तिकसम्ममा नेपालमा १ खर्ब ५७ अर्ब २७ करोड ७८ लाख ९८ हजार राजस्व संकलन गरेको छ । सो अवधिमा नेपालमा सबैभन्दा धेरै डिजेल, सोयाविन तेल, पेट्रोल, पेट्रोलियम ग्यास (एलपीजी) आयात भएको छ ।











