काठमाडौँ। सानिमा बैंक र नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) बीच नेशनल कार्ड स्विच अन्तर्गतको डोमेस्टिक कार्ड स्किम ‘नेपाल पे कार्ड’ को नेटवर्क सञ्चालनका लागि सम्झौता भएको छ ।
सम्झौतासँगै सानिमा बैंकले नेपाल पे कार्डको प्रमुख सदस्यता प्राप्त गरेको छ । नेशनल पेमेन्ट स्विच (एनपीएस) अन्तर्गत स्थापना गरिएको नेशनल कार्ड स्विच स्वदेशी कार्ड प्रयोग गरी गरिने कारोबारको राउटिङ र सेटलमेन्टलाई अन्तरआबद्ध बनाउने केन्द्रीय भुक्तानी पूर्वाधारका रूपमा कार्यरत छ ।
सम्झौता पत्रमा सानिमा बैंकका तर्फबाट प्रमुख निक्षेप अधिकृत हेम राज सञ्ज्याल र नेपाल क्लियरिङ्ग हाउस लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् ।
यो सहकार्यले नेपालमा डिजिटल भुक्तानी प्रणालीलाई थप सुदृढ बनाउने तथा स्वदेशी कार्डमार्फत हुने कारोबारलाई अझ सुरक्षित, सहज र प्रभावकारी बनाउने विश्वास बैंकले लिएको छ ।
हाल सानिमा बैंकले देशका सातै प्रदेशमा १३४ वटा शाखा कार्यालय तथा १२७ वटा एटिएममार्फत आफ्ना ग्राहकहरूलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।








