काठमाडौं ।  पटक पटक स्थगित हुँदै आएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्ने भएको छ ।

पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज दिउँसो एक बजे पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवनमा बैठक बस्ने जानकारी दिए ।

गत असोज २८ गतेबाट सुरु भएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा अघिल्लो बिहीबारसम्म केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यले धारणा राख्ने क्रम सकिएको थियो ।

त्यसपछि महाधिवेशन कहिले गर्ने भन्ने विवाद निराकरणका लागि अनौपचारिक छलफल गरी सहमतिको प्रयास गर्ने भन्दै पटक पटक बैठक सारिएको हो ।

कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा लगायतका पदाधिकारीले विवादको निरूपण गर्न मध्यमार्गी बाटोबाट सहमति जुटाउने प्रयासमा लागेका हुन् ।

पार्टीका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले महाधिवेशनका सम्बन्धमा देखिएको विवाद समाधानका लागि शीर्ष तहका नेताहरू अहिले अनौपचारिक छलफलमा रहेको जानकारी दिए ।