काठमाडौं । एनएमबि बैंकले नेपालमा पहिलोपटक सफ्टपोस (Soft POS) सेवा सुरु गरेको छ । कुनै पनि एनएफसी सपोर्ट गर्ने एन्ड्रोइड मोबाइल फोनलाई पोस मेसिनको रूपमा प्रयोग गर्न सकिनेछ ।

यस सेवामार्फत डेबिट वा क्रेडिट कार्डहरुबाट साना तथा मझौला उद्यम र टुर्सिम उद्यमहरूलगायत अन्य व्यवसायीहरुले मोबाइलमै भुक्तानी स्वीकार गर्न सकिनेछन्, यस सेवाको प्रयोगले व्यवसायीलाई पोस मेसिनको झन्झटबिनै डिजिटल भुक्तानी लिन सक्ने सुविधा दिनेछ ।

सफ्टपोसको प्रयोगबाट साना व्यापारी, डेलिभरी सेवालगायत टाढा ग्रामीण क्षेत्रका उद्यमीहरूलाई समेत डिजिटल भुक्तानी प्रणालीमा सहभागी गराउने लक्ष्य लिएको एनएमबि बैंकले जनाएको छ ।

‘सफ्टपोस सेवा केवल नयाँ प्रविधि होइन, यो नेपालको उद्यमशीलता र डिजिटल भविष्यतर्फको ठूलो पाइला हो । हरेक व्यापारीको खल्तीमा भएको मोबाइल नै अब भुक्तानी टर्मिनल बन्नेछ र व्यवसाय सञ्चालन थप सजिलो र सुरक्षित हुनेछ,’ एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरेले भने ।

सफ्टपोसले अन्तर्राष्ट्रिय स्तरको सुरक्षा मापदण्डअनुरूप काम गर्ने हुँदा व्यापारी र ग्राहक दुवैका लागि सुरक्षित र सरल भुक्तानी सुनिश्चित हुने बैंकले जनाएको छ । यस सेवाको सुरुवातसँगै एनएमबि बैंकले डिजिटल बैंकिङमा अग्रणी संस्थाका रूपमा आफ्नो भूमिका थप प्रस्ट पारेको छ । एनएमबि बैंकले हाल देशभरि २०२ शाखाहरु, १८४ एटिएमहरु र नौ एक्सटेन्सन काउन्टरहरुमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आएको छ ।